कृषि विकास बैंकको नाफा ५७ करोड

Advertisement

विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ ।

बैंकले १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ ।

अघिल्लो आवमा बैंकले १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष एक अर्ब ६२ करोड ३६ लाख ६५ हजारभन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिए ।

गत आर्थिक वर्षमा आठ अर्ब ४३ करोड ३४ लाख निक्षेप सङ्कल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा सात अर्ब ४२ करोड ९६ लाख निक्षेप सङ्कलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको छ । यो लक्ष्यको तुलनामा एक अर्ब तीन करोड ३८ लाख कमी हो । बैंकले गरेको लगानीमा शङ्कास्पद नेक्सानी व्यवस्थामा रु ३३ करोड ४९ लाख ८२ हजार रकम राखेको छ ।

बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा चार अर्ब ३५ करोड ६५ लाख, झापामा रु आठ अर्ब ६५ लाख ८५ करोड, धनुकटा र तेह्रथुममा एक अर्ब ८९ करोड, सुनसरीमा एक अर्ब २० करोड र मोरङमा रु एक अर्ब २७ करोड लगानी गरेको छ । त्यस्तै उद्योगतर्फ इलाममा रु एक करोड १७ लाख, झापामा रु सात करोड ७७ लाख, धनकुटा र तेह्रथुममा रु ७१ लाख, सुनसरीमा रु सात करोड ९३ लाख र मोरङमा रु दुई करोड ६० लाख लगानी गरेको सो बैंकले जनाएको छ ।

कूल एक लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोशी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालीम केन्द्र छन् । बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत्, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोवार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरीद– बिक्री गर्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement