भारतका बाह्य मामिलामन्त्री राजधानीमा

Advertisement

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचोँ बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए ।

संयुक्त आयोगको बैठक आजै अपराह्नदेखि प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्ने गरी गहन विचारविमर्श हुनेछ ।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

Advertisement

Advertisement

Advertisement