ग्रीनल्यान्ड नबेच्ने भएपछि ट्रम्पले डेनमार्कको भ्रमण नै रद्द गरे

Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेका छन् । डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड अमेरिकालाई बेच्ने कुरा अर्थहीन भएको भन्दै डेनिश प्रधानमन्त्रीले बयान दिएपछि ट्रम्पले भ्रमण रद्द गरेका हुन् ।

ट्रम्पले मंगलवार एक ट्वीट गरेर अर्को समयका लागि भ्रमण स्थगित गरेको लेखे । ‘प्रधानमन्त्रीले यति सीधा कुरा राखेर अमेरिका र डेनमार्क दुवैको खर्च र प्रयास जोगाउन सफल भएकी छन्,’ ट्रम्पले लेखे ।

सेप्टेम्बर महिनाको आरम्भतिर ट्रम्पले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसनलाई भेट्ने कार्यक्रम थियो । ट्रम्पलाई डेनमार्ककी रानी मार्गरेथ द्वितीयाले राजकीय भ्रमणका लागि निम्तो गरेकी थिइन् ।

फ्रेडरिकसनले ग्रीनल्यान्ड किन्ने ट्रम्पको चाहना अर्थहीन भएको बताउँदै ग्रीनल्यान्ड बिक्रीमा नरहेको बताएकी थिइन् । ग्रीनल्यान्डमा रेयर अर्थ्स नामक वस्तु पाइने हुनाले ट्रम्पले त्यो टापु किन्न मरिहत्ते गरेका हुन् । रेयर अर्थ्स मोबाइल फोन, आणविक हतियार लगायतका वस्तुमा प्रयोग हुने धातु हो ।

तर ट्रम्पको यो रणनीतिलाई डेनिश प्रधानमन्त्रीले असफल बनाइदिएपछि उनी क्रुद्ध भएका हुन् । राजकीय भ्रमण गरेका भए ट्रम्पले प्रधानमन्त्री फ्रेडरिकसन र ग्रीनल्यान्डका प्रधानमन्त्री किम कीएल्सनलाई भेट्ने थिए । उनले डेनमार्क भ्रमण गर्नुअघि पोल्यान्डको वार्सामा दोस्रो विश्वयुद्ध शुरू भएको ८०औं वर्षगाँठमा आयोजित समारोहमा भाग लिने कार्यक्रम थियो ।

Advertisement

Advertisement

Advertisement