राष्ट्रिय बीमा संस्थानको छलाङः नाफा १८९.३४ % र प्रिमियममा शतप्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले छलाङ मारेको छ । कम्पनीले नाफा र प्रिमियम संकलन दुबैमा व्यापक वृद्धि गरेको हो । २०७५ असार मसान्तमा १ करोड ९७ लाख रुपैंया नाफा गरेको कम्पनीले २०७६ असार मसान्तमा ५ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । जुन ३ करोड ७३ लाख अर्थात १८९.३४ प्रतिशतले बढी हो । संस्थानको यो नाफा विमांकीय मूल्यांकन अघिको हो ।

संस्थानले बीमा शुल्क आजनमा पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । २०७५ असार मसान्त अवधीमा जम्मा ३ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेको थियो । तर २०७६ असार मसान्त आईपुग्दा ३ अर्ब १९ करोड अर्थात १००.९४ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको हो ।

यद्यपी यसमा नागरिक लगानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीहरुको बीमा सेवा गत आर्थिक वर्षदेखि संस्थानलाई हस्तान्तरण गरेकाले ३ अर्ब ७ करोड ८२ लाख रुपैंयाँ भने कोषबाट एक मुष्ठ प्राप्त गरेको हो । १८ करोड १० लाख चुक्ता पुँजी भएको संस्थानको जगेडा कोषमा भने २२ करोड रुपैंया रहेको छ । कम्पनीले २ अर्ब ७१ करोड रुपैंयाँको दावी भुक्तानी गरेको छ ।

संस्थानको जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख रुपैंयाँ रहेको छ । संस्थानले ६ अर्ब ९५ करोड दिर्घकालिन लगानी गरेको छ भने ११ अर्ब ६५ करोड अल्पकालिन लगानी गरेको छ ।  संस्थानको प्रमुख कार्यकारी अधिकृतका रुपमा कवि प्रसाद पाठक आएपछि व्यवसाय विस्तारमा केहि आक्रामक रणनीति बनाएर काम गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement