सहकारी संख्याको संख्या घटाएर १०-१२ हजारमा ल्याउन पाए देश हराभरा हुन्थ्योः मन्त्री अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीको संख्या घटाउन पाए देश हराभरा हुने बताएकी छन् । सहकारी पत्रकार समाजले बिहीबार गरेको कार्यक्रममा उनले अहिले ३५ हजारको संख्यामा रहेका सहकारीको संख्या घटाएर १०-१२ हजार बनाउन पाए देश हराभरा हुने बताएकी हुन् ।

त्यति संख्यामा सहकारी संस्थाहरु घटाउन सके सरकारले सोचेको संवृद्धिको अभियान साथ मिल्ने भन्दै अर्यालले सहकारीको संख्या घटाउन मर्जरमा जानैपर्ने बताइन् । तर यस अभियानमा सरकारले जर्बजस्ती नगर्ने उनले स्पष्ट पारिन् । मर्जर गर्ने भनेको मन मिल्नेसँग हो भन्दै अर्यालले कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी संख्याबीच मर्जर गर्न सकिने बताइन् ।

उनले भनिन्, 'सहकारी संस्थाहरुलाई मर्जरमा जानुपर्छ भनेर माथिबाट घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वाताबरण बनाउने काम हाम्रो हो । त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फुर्त रुपमा मिलेर आउनुहोस् ।'

सहकारी संस्थाहरूको मर्जर सहकारीकर्मीहरुकै पहलमा मात्र सम्भव हुने भन्दै अर्यालले अब सहकारी संस्थाहरू उत्पादन र बजारीकरणमा जानुपर्ने बताइन् । अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उनको भनाई छ ।

एउटा सहकारीले अनिवार्यरुपमा एउटा उद्योग, व्यवसाय गर्ने अर्यालको तर्क छ । उनले यसका लागि पनि सहकारीको मर्जर आवश्यक रहेको बताइन् । उनले सहकारी अभियानमा केही संस्थाको बदमासीका कारण प्रश्नचिन्ह उठेको भन्दै त्यही समस्यालाई समाधान गर्न कोपोमिस प्रणाली लागू गरिएको बताइन् ।

Advertisement

Advertisement

Advertisement