राजस्व चुहावटमा एक करोड ७४ लाख बिगो दाबी गर्दै मुद्दा दायर

Advertisement

काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सुन चोरीपैठारी गरेको आरोपमा पेम्बा ढिण्डुप तामाङ, भन्सारमा न्यून मूल्य घोषणा गरी राजस्व छली गर्ने राजेशकुमार अग्रवाल लगायतका ४ जनाविरुद्ध १ करोड ७४ लाख रुपियाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

विभागका अनुसार पेम्बा तामाङले चोरीपैठारी गरेर सुनको कारोबार गरिरहेका थिए । तामाङलाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरिएको थियो । उनको साथबाट एक किलोग्राम सुन बरामद गरिएको विभागले जनाएको छ ।

सुनको मूल्य ५५ लाख ७३ हजार रुपियाँ हुन आउने भन्दै विभागले उनीविरुद्ध सो रकम बराबरको बिगो दाबी गर्दै राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन कसूरमा गत मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनी रसुवाको गोसाइकुण्डका हुन् ।

विभागले भाइटल हेल्थ केयर प्रालिका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलविरुद्ध एक करोड १९ लाख रुपियाँ बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरूले भन्सारमा सामानको न्यून मूल्य घोषणा गर्दै राजस्व छली गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको हो । राजस्व चुहावट कसूरमा उनीहरूविरुद्ध १ करोड १९ लाख रुपियाँ बिगो दाबीसहित सोमवार जिल्ल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजेशकुमार अग्रवाल र सरोज गोयललाई जरिवाना तथा कैद सजायको माग दावी समेत गरिएको छ ।

उनीहरूलाई भन्सार जाँचपास गरेर सघाउने कुमार खरेलको सवारीसाधन जपत गर्न पनि माग गरिएकोे छ । सघाउने खरेल र सवारी चालकलाई उनीहरूका मतियार मानेर राजस्व चुहावट ऐनको दफा २३ को उपदाफा २ अनुसार सजाय माग दाबी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement