डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन

Advertisement

काठमाडौं । पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको हो । संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो ।

जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्दछ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ  । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दाघाट डिपो पुगेर चामल ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ ।

पैराम, गर्खाकोट, बुँदीडाँडा, स्याङ्लीगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तीमा सात घण्टा लाग्छ । ध्यारगाउँ, बानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन एक दिन लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिँड्नुपर्ने बाध्यताले बजारको महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य भएको बारेकोट गाउँपालिका–४ रावतजिरीका रवि रावतले बताए  । उनका अनुसार स्थानीय बजारमा मोटो चामल प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । खाद्य संस्थानले अरुवा मध्यम चामल प्रतिकिलो  ४५ मा बिक्री गर्दै आएको छ ।

चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा पाँच सय, घाट डिपोमा ३०० र चौखा डिपोमा एक हजार ७०० क्वीन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ । त्यस्तै खलङ्गास्थित गोदाममा एक हजार ७०० क्वीन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो । जाजरकोटमा संस्थानका छ डिपो छन् । संस्थानले दशेरा र घोगी डिपोका लागि नेपालगञ्जबाट बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्छ भने घाट, चौखा , जुनिचाँदे, कालीमटी, लागि खलङ्गाबाट ढुवानी हुने गरेको छ ।

खलङ्गा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयवासी फाट्टफुट्ट आउने गरेका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । गत आर्थिक वर्षमा १० हजार क्वीन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करीब ५०० हजार क्वीन्टल बिक्री हुन बाँकी रहेको उनले बताए  ।

पौडेलले भने, “दशेरा डिपोमा चामल मौज्दात छैन, दुर्गम क्षेत्रमा वर्सेनी असार र साउन महीनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महीनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।” घर नजिकै बजारमा विभिन्न प्रकारका चामल पाइने तर खाद्यान्नको भने ढाटा र बोकेर ल्याउनुपर्ने बाध्यताले समस्या भएको बताइन्छ । चालु आर्थिक वर्षका लागि नयाँ बोलपत्र आह्वान हुने समयसमेत भइसकेको कार्यालयले जनाएको छ । अहिले वर्षायाममा बाटो भत्किएको र एक्लै टाढा जान नसक्दा पनि तोकिएको वस्तु खरीद गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement