नदीको कटानका कारणले तातोपानी कुण्ड जोखिममा

Advertisement

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ ।हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दैै गएको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ ।

वर्षैपिच्छे असार महिनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुई वटा मुहान पुरिने गरेका छन् । यस वर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीले कुण्डभन्दा बाहिरका कुवामा नुहाउन पाएका छैनन् । अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या परेको हो । वर्षासँगै म्याग्दीखोला बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर खोला नजिकै रहेका दुईवटै कुवामा परेको छ । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गर्दछ ।

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीहरुका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था मिलाइएको छ । महिलाका लागि तीन वटा र पुरुषका लागि दुई वटा छुट्टाछुट्टै ड्रम राखेर त्यसमा भरिएको पानीमा बिरामीले नुहाउन सक्नेछन् ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले म्याग्दी खोलाको किनारमा रहेका दुई वटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताए । उनले कुण्ड व्यवस्थापन समितिको तर्फदेखि भू–गर्भविद्समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताए ।

तातोपानी कुण्डको संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा प्रचारप्रसारका लागि कुण्डको तर्फदेखि आवश्यक पहल गर्दै आइरहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यको भनाइ छ । गत वर्ष अविरल वर्षासँगै तातोपानी बजारको ढल व्यवस्थापन गर्ने क्रममा कुण्डमाथि थुपारिएको ढुङ्गा, गिटी र बालुवाका कारण वर्षाको पानी जम्मा हुँदा जमीन भासिएको थियो । तातोपानी कुण्डमा हाल दैनिक १०० देखि १५० जनासम्म बिरामीले स्नान गर्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement