लामिछाने रिहा हुँदा चितवन र काठमाडौं समर्थकहरु सडकमा उत्रिएर अविर जात्रा

Advertisement

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएलगत्तै काठमाडौं र भरतपुरमा समर्थकले खुशीयाली मनाएका छन् ।

नयाँ बानेश्वर र भरतपुरको चौविसकोठीमा समर्थकहरुले सडकमा प्रदर्शन गर्दै अविरजात्रा गरेका हुन् । जिल्ला अदालत चितवनले सोमबार लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

तीनै जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन गरेको कसूरमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दायर गरेको थियो । स्वर्गीय पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता थिए । केही समयअघि मात्रै उनले सिधा कुरा छाडेर माउन्टेन टेलिभिजनमा कार्यक्रम चलाउन थालेका थिए । अफिसकै कामको सिलसिलामा चितवन पुगेका उनी साउन २० मा होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएसँगै प्रहरीले लामिछानेसहित तीन जनालाई करिव दुई साताअघि पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement