दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनका लागि र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन सोमबार समापन भएको छ ।

सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारी, शिक्षक शिक्षिकालगायत नेपाली तथा विदेशी सोधकर्ताको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए ।

सम्मेलनमा तीन सय जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट सात सय जना भन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षकका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु आफ्नो यस सहकार्यको उदेश्य रहेको एनसेलले जनाएको छ । दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्ने उसको भनाई छ ।

सम्मेलन शनिवार शुरु भएको थियो । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हासिल गर्न सकिने बताए ।

गरेर सिक्ने विधिमा जोड दिँदै आयोजना गरिएको यो सम्मेलन बालबालिकाहरुको लागि अति महत्वपूर्ण रहेको उनले बताए । सोमबार समापन कार्यक्रममा संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भइरहेको बताइन् । उनले सम्मेलनमा सहभागी शिक्षक शिक्षिकाहरुलाई आफूले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले एसएसडीपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा आफूहरु हर्षित भएको भन्दै आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकालाई प्लेटफर्म प्रदान गर्दै उनीहरुलाई अझ सशतm बनाउन सहयोग पुर्याउनमा एनसेलको यो सहकार्य केन्द्रित रहेको बताए ।

यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपछि सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement