‘नाडा अटो शो’ भृकुटीमण्डपमा सुरु, ‘एसेम्ब्लिङ प्लान्ट’ राख्नुस्, सहयोग गरौंलाः अर्थमन्त्री

Advertisement

काठमाडौं। सवारी साधनहरुको वृहत मेला ‘नाडा अटो शो’ मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले यसको औपचारिक उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा उनले हाइब्रिड तथा विद्युतीय सवारी साधनहरुको एसेम्ब्लिङ प्लान्ट नेपालमा सुरु गर्न व्यवसायीहरुलाई सल्लाह दिँदै त्यसरी सुरु गर्नेहरुलाई सरकार सहयोग गर्न तयार रहेको बताए । देशमै अटोमोवाइल उद्योगहरुको विकास गर्न सबै मुलुकले पार्टपुर्जा ल्याएर फिटिङ गर्दै सुरुवात गर्ने गरेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यसरी नै अघि बढ्न आग्रह गरे ।

आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्ने बताउँदै खतिवडाले तर यस्ता प्लान्ट हाइब्रिड र इलेक्ट्रिक सवारी साधनको उत्पादनका लागि हुनुपर्ने बताए । ‘मुलुकको स्वस्थ विकास र औद्योगिकीकरणका लागि सवारी साधन चाहिन्छ, तर कति कति आयात गर्ने ? त्यसको सीमा हुनुपर्छ’ भन्दै उनले चिल्लो ठिक्क खायो भने त्यसले इनर्जी दिने तर बढि भयो भने मोटोपना बढ्नुका साथै स्वास्थ्यमा समस्या सिर्जना हुने तर्क प्रस्तुत गरे ।

खतिवडाले भने, ‘हाइब्रिड र विद्युतीय सवारी साधनका प्लान्टहरुलाई सहयोग दिन्छौं, तर त्यस्ता प्लान्टहरुबाट २० प्रतिशतभन्दा बढि मूल्य अभिवृद्धि हुनुपर्छ, जति मूल्य अभिवृद्धि हुन्छ, त्यति बढि सहुलियत दिन तयार छौं । विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहने उनले बताए ।

आफ्नो आम्दानीले धान्नसक्ने गरी ठिक्क आयात गर्नुपर्ने खतिवडाको भनाई छ । उनले सडक पूर्वाधार र सडक सुरक्षा सरकारको मुख्य प्राथमिकता र चुनौति हो भन्दै राजधानी काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको काम पूरै नसकिएसम्म सडकको समस्या कायमै रहने बताए ।

साथै खतिवडाले अहिले अडकलेर बनाइएका साँधुरा सडकले सवारी साधनको चाप धान्न नसक्ने र ठूलो विनाश गरेर सडक विस्तार गर्न पनि सरकारले आँट गर्नसक्ने अवस्था नरहेको बताए । दश बर्षमा गाडिको आयात चार गुणाले बढेको उदाहरण दिँदै उनले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखे।

अर्थमन्त्रीले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने बताउँदै आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने बताए ।

खतिवडाले सवारी साधन नवीकरण गर्नका लागि अनलाईनमार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने, दुर्घटना कम गर्न भेहिकल फिटनेश सेन्टर चाँडै स्थापना गरिने, राजश्वसम्वन्धी समस्या समाधानका लागि गठन आदेशमार्फत राजश्व बोर्ड गठन गरिने बताए । विज्ञसहितकोे यस्तो बोर्ड गठनपछि राजश्वसम्वन्धी धेरै समस्या समाधान हुने बताए ।

मन्त्री खतिवडाले व्यवसायिक बाताबरण बिग्रिएको आरोपको खण्डन गरे । उनले कर्जाको माग बढ्नु, कम्पनी दर्ता बढ्नु, आयातभन्दा निर्यातको दर बढ्नु, आर्थिक वृद्धिदर बढ्नुले आर्थिक गतिविधि बढेको स्पष्ट हुन्छ भन्दै व्यवसायिक बाताबरणमा सुधार आएको बताए ।

विभिन्न ब्राण्डका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनका साथै यसका एसेसरिज, स्पियर पार्ट, लुब्रिकेन्ट्स, बैंकहरुको सहभागिता रहेको नाडा अटो शो छ दिनसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement