भिडियो कन्फ्ररेन्स कि त प्रविधि भित्र्याउन भएन भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ: मन्त्री बाँस्कोटा

Advertisement

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्र्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए ।

प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए । उनले भने, ‘कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो ।

उनले भने, ‘सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन् । केही समयका निम्ति उनले उपचारका लागि जानुभएको हो । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।’

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्र्रिया गर्न सक्ने निर्णय गरेको थियो । उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे । उनले भने, ‘यस्ता कुरामा कुनै तुक छैन ।’

आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे । ‘कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ’, उनी भन्छन्, ‘यस्तो ‘वाहियात’ कुरा गर्ने रु प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उहाँले आफ्ना मन्त्रीसँग अन्तरक्रिया गर्नुभएको हो ।’

आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे । गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै मन्त्री बाँस्कोटाले क्षणिक तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको समेत कुनै तुक नभएको स्पष्ट पारे । ‘यस्ता कुरा जनताले पत्याउनेवाला छैन, बहस गर्न आए हुन्छ ।’

वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवि र व्यक्तित्वमाथि प्रश्न नगर्न चुनौती दिँदै मन्त्री बाँस्कोटाले भने, ‘केपी ओलीको राष्ट्रवाद कोही कसैले बनाइदिएको होइन । धर्तीको आजको मान्छेले यो पाठ पढाउनुपर्दैन । ‘के राष्ट्रवाद के राष्ट्रघात भन्ने कुरा पनि बुझ्नुपर्छ, गलत कुरा गर्नेहरु डेडअक्कली राष्ट्रवादी हुन् । त्यस्ताका टिप्पणी गर्नु आवश्यक छैन ।’

‘प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उहाँ हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्कने बताए । ‘प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उनले भने, ‘प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी ग¥यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ ।’

उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नो बारेमा चिन्ता व्यक्त गर्नेलाई उहाँले धन्यवादसमेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने ।

Advertisement

Advertisement

Advertisement