नारायणगढ मुग्लिन सडकखण्डका  पुल निर्माण सम्पन्न

Advertisement

मुग्लिन । नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन् । ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उनले जानकारी दिए । निर्माणको चरण सकिएकाले सवारीसाधन गुड्न थालेका उनको भनाइ छ ।

औपचारिक रुपमा पुल सम्पन्न हुन र उद्घाटन हुन भने केही समय लाग्ने विसुरालले जानकारी दिनुभयो । सवारीसाधनले ती स्थानमा दुवै पुल प्रयोगमा ल्याएका छन् । ती पुल लामा कन्स्ट्रक्सनले निर्माण गरेको हो । सँगै सोही सडकको जलवीरेमा रौताहा कन्स्ट्रक्सनले निर्माण थालेको पुल भने ३५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

विसुरालका अनुसार सो पुलको पहिरोलगायतका कारण काममा कठिनाइ भएकाले आउँदो डिसेम्बरसम्म समय थप गरिएको छ । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ, फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भएको हो । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३० खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर रहेको छ ।

जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ । सो सडक खण्डमा अझै १५ पुल निर्माण गर्नुपर्ने हुन्छ । ती पुल निर्माणका लागि प्रक्रिया अघि बढिरहेको विसुरालले जानकारी दिए । ती पुल २०७४ साल कात्तिकमा २२ महीनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

सो सडकखण्डको गत वर्ष विस्तारको काम सम्पन्न भएको हो । सडक ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल छ मिटर मात्र चौडा रहेकाले सबै पुल नयाँ निर्माण गर्नुपर्ने भएको हो । पहिलो चरणमा चारवटा पुल निर्माणको ठेक्का लगाइएको थियो । बाँकी पुल डिजाइनसहित ठेकेदारले बनाउने गरी ठेक्का दिइँदै छ । सो सडक हुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement