ब्याजदरमा ध्यान नदिए बैंकहरुले धेरै लामो समय तरलताको समस्या झेल्नुपर्छः खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवाराज खतिवडाले बैंकहरुलाई एकल अंकको ब्याजदरमा कर्जा प्रवाह गर्न सुझाव दिएका छन् । राष्ट्रिय बाणिज्य बैंकको कार्यक्रममा बुधबार उनले मुद्रास्फीतिभन्दा कम नहुने गरी बचतमा ब्याज दिन पनि उनले सुझाव दिएका छन् ।

खतिवडाले ब्याजदरमा ध्यान नदिए तरलता अभावमा बैंक तथा वित्तीय संस्था धेरै लामो समयसम्म बस्नुपर्ने बताए । पुँजी बजार सुधारका लागि सरकारले धेरै काम गरेको पनि उनले जिकिर गरे । पुँजीगत लाभकर घटाइएको उल्लेख गर्दै खतिवडाले अब बैंकहरुले राम्रो नाफा कमाएर लगानीकर्तालाई खुशी पार्नुपर्ने बताए ।

पुँजी बजार निरन्तर घटेर तल्लो विन्दुमा पुगेका बेला अर्थमन्त्रीले सुधारका थुप्रै काम गरेको दाबी गरेका हुन् । उनले यसो भनिरहँदा बजारमा लगानीकर्ताको आत्मबल भने बढ्न सकेको छैन । पुँजी बजार सुस्त हुनुमा चर्को बैंक ब्याजदरलाई पनि कारक मानिएको छ । अहिले सेयर धितो कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि छ । निक्षेपमा १० प्रतिशत हाराहारीमा ब्याज पाइने भएकाले अर्थमन्त्रीको सुझाव कार्यान्वयन हुनेमा भने आशंका गर्ने ठाउँ देखिन्छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारको लक्ष्य देशभर वित्तीय पहुँच पुर्याउनु रहेको बताए । सोही लक्ष्यलाई पूर्णता दिन सबै स्थानीय तहमा शाखा पुर्याउन वाणिज्य बैंकहरुलाई निर्देशन दिइएको उनले बताए । अहिले २३६ वटा स्थानीय तहमा शाखा विस्तार भइसकेको र १७ जिल्लामा प्राविधिक कारणले शाखा विस्तार हुन नसकेको शिवाकोटीले जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement