शुभलाभ हुने निर्णय गरेर त्रिवि उपकुलपतिबाट विदा

Advertisement

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् ।

निर्णयबारे बैठकमा सहभागीहरूले फरक फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले बैठकबाटै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णयबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइन् । यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् ।

त्रिवि प्राज्ञिक परिषद्ले भदौ ५ गते चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० एवं विभिन्न सातवटा मेडिकल कलेजहरूमा ‘निट’ लागू गर्ने भनी परिपत्र गरेको छ । भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले ‘नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (निट) उत्तीर्ण गरेको हुनुपर्छ । आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो । त्रिवि उपकुलपति कार्यालयको स्रोतले भन्यो, ‘अवकाश हुनु केही दिनअघि खनियाँले निट उत्तीर्ण भएकै आधारमा विदेशी विद्यार्थी भर्ना गर्न मिल्ने निर्णय गर्नुभयो ।’

गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिनेरनदिने छलफल भए पनि निर्णय भएको थिएन । तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरे । प्राज्ञिक परिषद्मा भएको छलफललाई सदस्यसचिवले माइन्युट गर्ने र उपकुलपतिले समेत हस्ताक्षर गरेर प्रमाणित गर्ने प्रचलन छ । अन्य सदस्यले माइन्युटमा हस्ताक्षर गर्ने परिपाटी छैन । परिषद्का एक सदस्यले भने, ‘यस्तो निर्णयले हामीलाई निकै आश्चर्य लागेको छ ।’
कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement