नेपाल टेलिकम भन्छ– हाम्रो मुनाफामा केही कमी आउनुको कारण यो हो

Advertisement

काठमाडौं । सरकारको मुख्य लगानी रहेको नेपाल टेलिकमको मुनाफामा गएको आर्थिक बर्षमा केही कमी देखिनुको कारण विज्ञप्तिमार्फत प्रष्ट्याउने प्रयास गरेको छ ।

मोवाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) नवीकरणवापत वापत दोस्रो अवधि (२०७१–७६)को दस्तुर रकम २० अर्बमध्ये पहिलो किस्ताको चार अर्बको खर्च र दूरसञ्चार सेवा प्रदायक कम्पनीको दायमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुले नाफामा कमी आएको कम्पनीले बताएको छ ।

आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको भन्दै नेपाल टेलिकमले कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको बताएको छ ।

तारसहितको ब्रोडव्याण्ड सेवातर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटीटीएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको उसको भनाई छ । साथै नयाँ विस्तार हुने एफटीटीएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधिमार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको टेलिकमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरि इन्टरनेट प्रविधिमा आधारित ओटीटी (जस्तैः भाइबर, ह्वाट्सएप, म्यासेन्जर आदि) सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको नेपाल टेलिकमको भनाई छ । संसारभर देखिएको यस्तो परिस्थितिबाट आफूहरुलाई पनि असर पर्नु स्वाभाविक भएको कम्पनीको भनाई छ ।

यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तारमार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ती गर्नेतर्फ कम्पनी निरन्तर प्रयासरत रहेको भन्दै कम्पनीले आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाइने जनाएको छ । साथै, उक्त प्रयासहरूको फलस्वरूप भविष्यमा सो कमीलाई पूर्ति गर्दै परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइस तर्फको राजस्वमा निर्भरता कम गर्दै लगिने जनाइएको छ ।

नेपाल टेलिकमले अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगतरूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव चार अर्ब रुपियाँले बढेको जनाएको छ ।

यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटीटीएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने उसको भनाई छ ।

फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रमअनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भइसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको जानकारी दिँदै कम्पनीले निकट भविष्यमा देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढिरहेका बताएको छ ।

त्यसैगरि, विद्यमान परिस्थितिमा पनि नेपाल टेलिकमले आम्दानी र मुनाफा अभिवृद्धि गर्ने भन्दा आफ्ना देशभरका सेवाग्राहीलाई सुपथ मुल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महत्व दिएको कम्पनीले बताएको छ । विगतदेखि नै कम्पनीले आफ्ना सेवाहरू देशका अति विकट क्षेत्रहरूमा पनि समान दररेटमा उपलब्ध गराउँदै आएको भन्दै उसले आफ्नो विज्ञप्तिमा दुर्गम स्थानमा सेवा बिस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने गर्दछ भनी उल्लेख गरेको छ ।

तथापि कम्पनीले सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पुर्याउन निरन्तर लगानी गर्दै आएको, यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको नबनाएको उसको भनाई छ ।

नेपाल टेलिकमको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको छ । यसका अतिरिक्त ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्दति अनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको, सोबाट पनि समग्र राजस्वमा केही असर परेको जनाएको छ । कर बढ्दा पनि विक्री मूल्य नबढाई कम्पनीले सुपथ मूल्यमा सेवा दिने कम्पनीको भनाई छ ।

नेपाल टेलिकमले वित्तीय स्वास्थ्यलाई थप सुधार गर्न ताररहित तथा तारसहित सेवाहरुको आमूल रूपान्तरण सहितको विस्तार, नवीन भ्यालु एडेड सेवाहरू, रोमिङ्ग लगायत अन्तर्राष्ट्रिय सेवाहरुको आम्दानीमा सुधार, सेवाहरूको गुणस्तरमा सुधार लगायतका कार्यक्रमहरू मार्फत प्रति ग्राहक राजस्व वृद्धि समेतका प्रयासहरू शुरू भइसकेका, सोही प्रयासस्वरूप गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १२१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको, यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरूमार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको जनाएको छ ।

सो अनुरुप आफूहरुले चालू आर्थिक वर्षभित्र करीब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको कम्पनीले जनाएको छ । आम्दानी वृद्धिका अतिरिक्त कम्पनीले हरेक वर्ष आफ्नो गैरसञ्चालन खर्च कटौति गर्दै लैजानको लागि पनि विभिन्न उपायहरू अवलम्बन गरेको दावी गरेको छ ।

राजस्व वृद्धि तथा खर्च नियन्त्रणका उक्त प्रयासहरूमार्फत कम्पनीको समग्र आम्दानी वृद्धि गरी समग्र वित्तीय अवस्थालाई अझ उकास्न तथा लगानीकर्ताहरूको लगानीको प्रतिफल सुनिश्चित गर्दै वेल्थ म्याक्सिमाइजेशन गर्न कम्पनी कटिवद्ध भएर लागिपरेको भन्दै टेलिकमले यसमा सबैको सहयोग जरुरी रहेको बताएको छ ।

हाल कम्पनीका विभिन्न सेवाहरूमा गरी करीब दुई करोड २६ लाखको ग्राहक आधार रहेको छ ।

Advertisement

Advertisement

Advertisement