बैंक सञ्चालकको भेलामा गभर्नरको पीडाः आजकल मलाई रुन मन लाग्छ

Advertisement

काठमाडौं । बिहीबार राजधानीको एउटा पाँचतारे होटलमा भेला भएका थिए बैंक तथा वितीय संस्थाका सञ्चालकहरु । राष्ट्र बैंक र बैंक तथा वितीय संस्थाहरुको समेत लगानीमा स्थापना भएको नेशनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको सञ्चालक सम्मेलनको प्रमुख अतिथि थिए गभर्नर डा. चिरञ्जीवी नेपाल ।

पछिल्लो समय गभर्नर नेपाल नेतृत्वको राष्ट्र बैंकप्रति कहिले व्याजदर आन्दोलनका नाममा उद्योगीले घेरा बन्दीमा पारे । मौद्रिक नीतिविरुद्ध बैंकर्स संघले विज्ञप्ति नै निकालेर राष्ट्र बैंक नेतृत्वलाई सिधै चुनौती दिए । सञ्चालकले उमेर हदको नीति विरुद्ध अदालत गएर अन्तरिम आदेश नै ल्याएका छन् । त्यतिले नपुगेर बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियालाई रोक्न संसदीय समितिले निर्देशन नै दिएको छ ।

यी सबै घट्नाक्रमबाट वाक्क भएका गभर्नर नेपालले बिहिबारको सञ्चालक सम्मेलनलाई आफ्नो पीडा पोख्ने फोरमका रुपमा भरपुर उपयोग गरे ।

गर्भनर नेपाल घरी आक्रामक रुपमा प्रस्तुत हुन्थे भने घरी भावुक बन्थे । बैंकर तथा सञ्चालकहरुले राजनीतिक शक्ति केन्द्र धाउने, अदालत जाने लगायतका काम गरेर आफूलाई घेरा बन्दीमा पारेकोमा दुःखेसो पनि पोखे । ‘राष्ट्र बैंकले लामो अध्ययन गरेर दिर्घकालसम्म सकारात्मक प्रभाव पार्ने गरि नीतिहरु अघि सार्छ । तर बैंकर र सञ्चालकले राजनीतिक शक्ति केन्द्र र अदालत गएर त्यसलाई रोक्छन् । यी सबै घट्नाक्रम देखेर मलाई कहिले काँही रुन मन लाग्छ’, गभर्नर नेपालले भने ।

सञ्चालक र सिइओहरुको उमेर हद संसारका अधिकांश मुलुकमा रहेको तर नेपालमा कार्यान्वयन गर्न खोज्दा आफूलाई नै घेराबन्दीमा पारेको भन्दै उनी आक्रोशित पनि बने । ‘ठूला ऋण स्वीकृत गर्ने अधिकार भएका बैंकका सञ्चालकहरु ल्याप्चे भेटिए, लौरो टेकेर सञ्चालक समिति बैठकमा जाने अवस्था रह्यो, यस्तै अवस्थाले बैंकहरु संकटमा पर्न सक्छन भनेर उमेर हद ल्याएको हो । तर अदालत गए रोकिदिए’, गभर्नर नेपालले भावुक हुँदै सुनाए ।

करिब ३० मिनेटभन्दा बढी समय बोलेका उनले अधिकांश समय बैंकका सञ्चालक र सिर्इओहरुको गतिबिधिप्रति असन्तुष्टि नै व्यक्त गरे । गर्भनर नेपालले आफ्नो निरीहता र बैंकर तथा सञ्चालकको पहुँच देखेर आफू छक्क परेको समेत भन्न भ्याए । विदेशमा निजी कम्पनीका मालिकहरुले नै उमेर ढल्कदै गएपछि छोरा नातीलाई कम्पनी सुम्पिने गरेको उदाहरणसमेत उनले पेश गर्न भ्याएका थिए ।

‘विदेशमा आफ्नो व्यक्तिगत लगानी रहेका कम्पनीकै मालिकले पनि आफू बुढो भएपछी काम गर्न सक्दिन भनेर छोरा नातिलाई सुम्पिन्छन् । तर नेपालमा भने ९२.६ प्रतिशत नागरिकको निक्षेप लिने बैंकमा केही व्यक्ति आजीवन बसिरहन पाउनुपर्छ रे । यो कस्तो अचम्मको चलन हो ?’, उनले प्रति प्रश्न गरे ।

वित्तिय क्षेत्रमा लगानीयोग्य पुँजी अभावको समस्या आउनुमा बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतको दोषी रहेको आरोप पनि लगाए । सञ्चालक र सीर्इओहरु बैंकलाई स्वस्थ ढंगले चलाउन छाडेर आफ्ना गल्ती ढाकछोप गर्न राजनीतिक नेतृत्व र शक्ति केन्द्रको आडमा पुगेको पनि बताए । ‘ठूला शक्ति केन्द्र धाएर सधैं बसिरहन चाहने परिपाटी देखियो । म पनि निरहता प्रकट गर्न बाध्य छु’, गभर्नरले भने ।

उनले बैंकर्स एसोसियन कर्मचारीहरुको नभएर सञ्चालकहरुको संस्था हुनुपर्नेमा पनि जोड दिए । सीईओहरुले बैंकर्स संघलाई आफ्नो स्वार्थ रक्षाका लागि दुरुपयोग गरेको आरोप पनि लगाए । ‘बैंकर्स एसोसिएसनमा त संचालकहरु पो हुनुपर्ने त कर्मचारीले संगठन चलाईरहेका छन् । तपाईं संचालकहरुले चलाउनु पर्यो त्यो संस्था’, गभर्नरले भने ।

गभर्नर बोलिरहँदा कार्यक्रममा आइपुगेका बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने राष्ट्र बैंकको निर्देशन आफूहरुका लागि धिरोधार्य हुने बताए । पुँजी वृद्धि र आक्रामक बजार विस्तारको रणनीतिका कारण वित्तिय संकटको अवस्था सिर्जना हुन लागेको बताउँदै उनले अब कोर्ष करेक्सनको समय आईसकको धारणा पनि राखेका थिए ।

Advertisement

Advertisement

Advertisement