त्रिभुवन विमानस्थलका कर्मचारीले मोबाईल चलाउन नपाउने: मन्त्री भट्टराई

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन् ।

मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानविनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी समेत दिए ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारवाही गर्न पनि विमानस्थलको नेतृत्वलाई कडा निर्देशन दिए ।

सो विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढि अनुशासित हुनुपर्नेमा जोड दिए ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

उनले ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।

Advertisement

Advertisement

Advertisement