स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि आँखा अस्पतालमा सेवाग्राहीको चाप

Advertisement

पाल्पा । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो ।

दैनिक २०/२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताएका छन् ।

बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम शुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम शुरु गयौँ, अध्यक्ष पोखरेलले भने । सो बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्साल बताए ।

उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँदैनथे, बीमा कार्यक्रमपछि बिरामी अस्पताल पुग्ने गरेका छन्,” उनले भने । सो कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकोमा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गरेका छन् । आँखा जाँच, चश्मा, औषधि उपचार गर्दा थोरै भने पनि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ ।

नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ । यही सालको वैशाख २० गतेबाट बीमा कार्यक्रम शुरुआत गरिएको हो । सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।

अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन् । शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement