दूध उत्पादनमा पाइने अनुदान प्रभावकारी बन्दै

Advertisement

रत्ननगर । प्रतिलिटर दूध उत्पादनमा रु तीन अनुदान उपलब्ध गराउने माडी नगरपालिको निर्णय प्रभावकारी देखिएको छ । गत आवदेखि लागू गरिएको अनुदानको व्यवस्थाले यहाँका कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख विनियोजन गर्दै आएको छ । कृषकलाई गत आवमा अनुदानबापत रु ३६ लाख ५० हजार उपलब्ध गराएको माडी पशुसेवा शाखाका प्रमुख मोहन रानाभाटले जानकारी दिनुभयो । कृषक पशुपालनतर्फ आकर्षित भएसँगै माडीमा दूध उत्पादनमा वृद्धि भएको छ । अहिले यहाँ दैनिक छ हजार लिटर दूध उत्पादन भइरहेको छ । यस अघि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने गरेको थियो ।

शाखा प्रमुख रानाभाटका अनुसार खरीद गरिएको दूधको तथ्याङ्कअनुसार कृषकलाई अनुदान दिइएको हो । दूधको उत्पादन वृद्धि भएसँगै स्थानीय बजारमा माग बढेको उनको भनाइ छ । दूध उत्पादनको लागत घटाउन नगरपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ । माडी नगरपालिका र कृषि विकास बैंकको संयुक्त सहकार्यमा कृषकले साढे चार प्रतिशतमा कर्जा पाउने भएपछि उनीहरु पशुपालनतर्फ आकर्षित भएका नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । प्रभावकारी देखिए पछि दूध उत्पादनमा पनि अनुदानको व्यवस्था गरेका छौ, उनले भने ।

स्थानीय कृषक सूर्यप्रसाद भुसालले उत्पादनमा आधारित अनुदान भएकाले कृषकलाई प्रोत्साहित गरेको बताए । उनले अनुदानका कारण माडीमा घट्दै गएको दूध उत्पादन बढेको बताए । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्नुपर्नेमा भुसालले जोड दिए । हाल नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रतिलिटर रु तीनलाई बढाएर रु १५ पुयाउन उनले नगरपालिकासँग माग गरेका छन् ।

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले ११ करोड सहुलियत कर्जाको व्यवस्था गरेको छ ।  ५० भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्दैआएका छन् । चितवन देशकै धेरै दूध उत्पादन हुने ठाउँ मध्ये पर्छ । दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ ।

Advertisement

Advertisement

Advertisement