एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

Advertisement

म्याग्दी । एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।

निर्माणाधीन अवस्थामा रहेका निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग ‘पिपिए’ गरिएका साना र ठूला गरी १२ जलविद्युत् आयोजनामध्ये अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, छ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका–६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले जानकारी दिएका छन् ।

त्यसैगरी सोही गाउँपालिका–४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरि प्रथम, ६२ मेगावाटको निलगिरि दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणका लागि छुट्टै प्रवेशमार्ग निर्माण भइरहेको नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । नारच्याङमै २० मेगावाट क्षमताको निलगिरि ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएको छ ।

प्रस्तावित १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीसँग संयुक्त लगानीका लागि सम्झौता भइसकेको उनले जानकारी दिएका छन् ।

वडा नं ३ स्थित दानामा चार मेगावाट क्षमताको रुप्सेखोला ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी वडा नं २स्थित तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविद्युत् आयोजना सञ्चालन गर्न विद्युत् विकास विभागसँग ‘पिपिए भइसकेको उक्त गाउँपालिकाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement