लचिला नियामक-स्प्रेड दरबाट पछि हट्दै राष्ट्र बैंक, पुँजीमा बीमा समिति 'नरम'

Advertisement

काठमाडौं । सुरुमा निकै तामझाम र फुर्तिका साथ नयाँ व्यवस्था अघि सार्ने दुई नियामक निकायहरु पछिल्लो समय लचिलो बन्दै गएका छन् । बैंक तथा वित्तिय संस्थाहरु नियमनको जिम्मा पाएको नेपाल राष्ट्र बैंक मौद्रिक नीतिपछि जारी गरिएको परिपत्रबाट पछि हट्ने तयारीमा छ । त्यस्तै, बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीहरु प्रति लचिलो बनेको छ ।

नेपाल राष्ट्र बैंकले काउण्टर साइक्लिकल बफर र स्प्रेड दर गणना बिधिलाई आवश्यक संसोधन गर्ने तयारी थालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सिग्नलपछि यतिबेला राष्ट्र बैंक ‘फेस सेभिङ’को विकल्प खोजिरहेको श्रोत बताउँछ । नेपाल बैंकर्स संघले विज्ञप्ति नै निकालेर २५ प्रतिशत नाफा घट्ने र नेपालको पुँजी बजार ओरोलो लाग्ने घोषणा गरेपछि अर्थमन्त्री डा. खतिवडालाई प्रेसर परेको थियो । चौतर्फी घेरा बन्दीमा परेको महसुश गरिरहेका खतिवडाले राष्ट्र बैंकलाई लचिलो बन्न संकेत दिएका थिए । त्यस लगत्तै राष्ट्र बैंकले परिमार्जनको सन्देश प्रवाह गरेको थियो ।

राष्ट्र बैंकले गत सोमबार परिपत्रको व्यवस्था परिमार्जन गर्ने सन्देश छाडेपछि पुँजी बजारमा २० अंकको उछाल आएको थियो । ‘राष्ट्र बैंकले काउण्टर साइक्लिकल बफर र स्प्रेड दर गणना बिधी परिमार्जन गर्ने हल्ला चलेपछि बजार बढेको हो’, एक लगानीकर्ताले भने ।
उता, बीमा समिति पनि पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरु प्रति लचिलो बनेको छ ।

चुक्ता पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुलाई साउनको पहिलो हप्ता नै स्पष्टीकरण सोधेको समितिले यतिबेला भने ‘कल इन एडभान्स’को सुविधा दिएको छ । बीमा कम्पनीका सञ्चालकहरुलाई समितिमै बोलाएर कल इन एडभान्समा पैसा राख्न निर्देशन दिएको हो । ‘पुँजी पुर्याउन नसक्ने कम्पनीका सञ्चालकहरुलाई बोलाएर कल इन एडभान्समा पैसा राख्न निर्देशन दिएका छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । बीमा कम्पनीहरुलाई कारवाही गर्दा बढ्दो बीमा बजारमै नकारात्मक सन्देश जाने निष्कर्षसहित समितिले सुबिधा उपलब्ध गराएको हो । समितिले तेश्रो पटक म्याद थपिदिएर जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्ता पुँजी असार मसान्तसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सो अवधीमा नौ वटा बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेपछि स्पष्टीकरण सोधिएको थियो । हाल प्राइम लाइफ, गुराँस लाइफ, सुर्या लाइफ र राष्ट्रिय बीमा संस्थानले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । निर्जीवन बीमा कम्पनी तर्फ भने युनाइटेड, एनएलजी, प्रुडेन्सियल, लुम्बनी र राष्ट्रिय बीमा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन् ।

Advertisement

Advertisement

Advertisement