फ्रान्सका राजदूत र परिसंघ पदाधिकारीबीच भेटवार्ता

Advertisement

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरुबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत भएको विचार व्यक्त गरे । उक्त कुरा राजदूत लेगरले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भाद्र १८ गते भएको भेटवार्ताका क्रममा व्यक्त गर्नु भएको हो ।

उक्त अवसरमा राजदूत लेगरले नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको र समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा फ्रान्सको लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल भइरहेको बिचार समेत व्यक्त गरे । साथै राजदूत लेगर परिसंघले निकट भविष्यमा आयोजना गरिरहेको तेस्रो नेपाल पूर्वाधार सम्मेलनलाई सफल बनाउन दूतावासको तर्फबाट सक्दो प्रयास भइरहेको धारणा व्यक्त गरे ।

भेटवार्ताको क्रममा नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रभावकारीताको लागि समेत दूतावासबाट पहल भइरहेको विचार व्यक्त गरे । उक्त अवसरमा फ्रान्सका राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा फ्रान्सेली उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष मोरले नेपालको पूर्वाधार विकासमा फ्रान्सका लगानीकर्ताहरु पनि इच्छुक रहेको पाइएको हुँदा परिसंघबाट आयोजित आगामी तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा फ्रान्सका लगानीकर्ताको सहभागिताको लागि दूतावासबाट सहयोगको अपेक्षा गरेको धारणा उल्लेख गरे । सो अवसरमा परिसंघ पदाधिकारीहरु एवं राष्ट्रिय परिषदका सदस्यहरु समेत उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement