डिजिटल नक्सा तयार गर्दै कर्णाली प्रदेश, के–के समेटिन्छन् ?

Advertisement

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताएका हुन् । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड दिए ।

अब विकासका लागि हामी ठूला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्छौँ, उनले भने, तयार भएका योजनाहरुलाई कार्यान्वयनमा लैजान्छौँ । सरकारले विकासका लागि पूर्वाधार क्षेत्रको परियोजना बैंक तयार गरेको जनाउँदै उनले भने, प्रदेशको समानुपातिक विकासका लागि हामीले २४ वटै निर्वाचन क्षेत्रमा समानुपातिक ढङ्गबाट बजेट विनियोजन गरेका छौँ ।

कर्णालीलाई कृषि पर्यटनका रुपमा विकास गर्न जमिनको व्यवस्थीकरण गर्ने उनको भनाइ थियो । यसका लागि मध्यपश्चिम विश्वविद्यालयले प्राङ्गारिक पाठ्यक्रम तयार गरिरहेको उनले बताए । कर्णालीको निरक्षरतालाई पूर्णरुपले हटाउन प्रदेश सरकारले लिएको साक्षरता अभियानलाई लक्ष्यविन्दुमा पुर्याउने उनको भनाइ थियो ।

राजनीतिका लागि विकास गर्ने संस्कार हटाउनु आजको आवश्यकता रहेको बताउँदै उनले सुर्खेत–हिल्सा सडक निर्माणमा सरकारले प्रधानता दिएको जानकारी दिए । सङ्घीय सरकारले अधिकार नदिएकाले कर्णालीको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो ।

Advertisement

Advertisement

Advertisement