दशैँ खर्च जुटाउन नेपाली युवाहरु भारत जान बाध्य

Advertisement

धम्बोझी । 'पढाउन सक्ने अवस्था छैन, जसोतसो पढाए पनि कामको सुनिश्चित हुँदैन, त्यसैले आफूसँगै छोरालाई भारत लैजान लागेका हौँ', विक्रम विकले भने । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बाबुसँगै आफू पनि भारत जान लागेको मुर्तिहा नाका अर्थात् नेपालगन्ज भन्सारमा भेटिएका दीपक विकले विवशता पोख्दै भने, 'म त विदेश जाँदैछु, म जस्ता थुप्रै बालक पनि यसरी नै भारतमा मजदूरी गर्न गइरहेका छन् ।'

दशैँलगायतका चाडपर्व नजिकिँकै गर्दा घरखर्च जुटाउन भारत जानेहरुको अहिले मुर्तिहा नाकामा भीड चलिरहेको छ । पछिल्ला दिन हातभरि झोलाका गुन्टा, आँखाभरि आफन्तका सपना बोकेर भारत पस्ने नेपालीको भीड लाग्ने गरेको छ । नेपालगन्जको चर्को गर्मीमा निधारभरि पसिना चुहिँदै गर्दा भेटिएका दिपकमा अबोध उत्साह देखिन्थ्यो, भारत जान लागेकामा ।

भन्सार क्षेत्रमा रहेको एउटा पसलमा घाम छल्न उभिएकी बाँकेकी स्मारिका विक हाँस्दै भनिन्, 'बुबासँग घुम्न जान लागेको हो ।' स्मारिका कक्षा १ मा अध्ययनरत् थिइन् । उनी रोजगारीका लागि भारतको सिम्ला जान लागेका हुन् बुबा जीतराम विकसँगै । भारतमा गएर के काम गर्ने र कहिले घर फर्कने हो भन्ने उनलाई पत्तै छैन । पढाइ के होला भन्ने ती बालिकालाई चिन्ता हुने कुरै थिएन । 'स्कूल बिदा छ', हाँस्दै ती उनले बिदा सकिएपछि फर्कने मनशाय देखाउँदै भनिन् ।

दीपक र स्मारिका मात्रै होइन, धेरै बालबालिकालाई उनीहरुका अभिभावकले कामका लागि आफूसँगै लिएर जाने गरेका छन् । अभिभावकहरु बालबालिका भारत लैजानु मजबुरी रहेको बताउने गरेका छन् । स्मारिकाको बुबाले आमा नभएकाले छोरीलाई आफूसँगै भारत लैजान लागेको बताए । छोरीको पढाइ रोकिनेमा चिन्तित रहे पनि विकल्प नभएको विक्रम विकको भनाइ छ ।

'गाउँमा काम पाइँदैन, आफन्त कहाँ छोड्न मनले मानेन', उनले भने । भन्सारमा भेटिएका कतिपय अभिभावकले बालबालिकाले काममा सघाउने भएकाले पनि भारत लैजान लागेको बताएका थिए । कतिपय आमा, बुबाले कामका लागि भारत जाँदा घरमा हेरचाह गर्ने कोही नहुने भएकाले छोराछोरी पनि उतै लैजाने गरेको पाइन्छ । त्यसले बालबालिकाको पढाइ रोकिने गरेको छ ।

भारत जानका लागि जमुनाहमा टिकट काट्न लामबद्ध यात्रु हुन्छन् । सीमामा भारत जानेको दैनिक रुपमा लर्को हुन्छ । दशैँको खर्च जुटाउनका लागि नेपालगन्ज नाकामा यतिबेला भारत जाने नेपालीको लर्को छ । नेपालगन्ज हुँदै भारत जाने भएकाले नेपालगन्जका होटेलहरुमा भारत जान लागेका नेपालीले चाप बढेको छ ।

खेतीपाती सकेर पहाडी जिल्लाबाट भारत जानेहरुको सङ्ख्या वर्षेनी ठूलो हुने गरेको छ । 'गाउँमा काम छैन', बर्दियाको दयाराम थारूले भने, 'परिवार पाल्न र जीवन धान्न पैसा चाहियो, त्यसैले भारत पस्न लागेका हौँ ।' चाडपर्वको बेला अझ बढी पैसा चाहिने भएकाले आफूहरु मजदूरी गर्न भारत जानुको विकल्प नरहेको उनीहरुको दुखेसो छ ।

नेपालगन्ज भन्सारमा भेटिएका अधिकांश नेपाली भारतको सिम्लाका लागि हिँडेका थिए । “यतिबेला त्यहाँ स्याउ टिप्ने समय शुरु हुँदैछ, त्यसैका लागि जान लागेका हौं ।” दयारामले भने। बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, सल्यान, दैलेख, जाजरकोटलगायत जिल्लाबाट भारत कमाउन जानेहरुको सङ्ख्या अत्याधिक रहने गरेको छ । कतिपय नेपाली परिवारसहित नै कामका लागि भारतका विभिन्न ठाउँ पुग्ने गरेका छन् ।

खेतीपानी गरेपछि खाली बस्नुभन्दा कमाउन भारत जान लागेको बर्दियाको नन्दकिशोर चौधरीले बताए । उनी तीन वर्ष मलेसियामा बिताएर फर्केपछि पुनः भारत जान लागेका हुन् । “परिवारसँग छुट्टिँदा दुःख लाग्छ, के गर्नु यो रहर होइन, बाध्यता हो”, चौधरीले भने, 'अब मिल्यो भने दशैँ मनाउन आउँछु ।'

अन्य मुलुकमा गएजस्तो हजारौँ रुपैयाँ खर्च पनि नलाग्ने हुँदा पश्चिम नेपालका पहाडी जिल्लाका युवाको पहिलो रोजाइ भारत हुने गरेको छ । आफ्नै गाउँघरमा काम नपाएपछि प्रदेश नं ६ र कर्णाली प्रदेशका हजारौँ युवा, महिला तथा बालबालिका काम खोज्दै भारत जाने गरेका हुन् ।

विपन्न तथा गरिब परिवारका अधिंकाश युवा मात्र नभएर उमेर पाका मानिस समेत भारतको सिम्ला, लुधियाना, कालापहाड, गुजरात, नयाँदिल्लीलगायतका स्थानमा कामका लागि पुग्ने गर्दछन् । उनीहरूलाई त्यहाँ केही महिना मजदूरी गर्ने र चाडपर्वका बेला घर फर्किने बानी नै परिसकेको छ ।

'खेतीको काम सकिएपछि हरेक वर्ष मजदूरीका लागि भारत जान्छन् । कोही दुई/चार महिना काम गरी घर फर्कन्छन्', कनैया थारू भन्छन्, 'कतिपय चाडपर्वमा हुने खर्च जोहो गर्नैका लागि भारत जाने गरेका छन् ।'

नेपाल–भारत सीमा खुला रहेकाले कामका लागि भारत जाने नेपालीको लागत सीमामा राख्ने गरेको पाइँदैन । नेपालीले नै सीमामा भारतबाट विभिन्न ठाउँ जानका लागि यातायात सेवा सञ्चालन गरेको पाइन्छ । जमुनाहका रहेको स्वर्गद्वारी यातायात प्रालि र पशुपति पञ्चकुला यातायात प्रालिमा भारतका विभिन्न ठाउँ जानका लागि टिकट काट्नेहरुको घुइँचो नै लाग्ने गरेको देख्न सकिन्छ । रासस

Advertisement

Advertisement

Advertisement