पूरानै प्रश्नपत्र बाँडेपछि रोकियो त्रिविको परीक्षा

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ।

कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नु परेको डिन कृष्णप्रसाद गौतमले जानकारी दिए। बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।

बुधबार भएको कोड नम्बर ५१२ फाउण्डेशन अफ एजुकेशन विषयमा सोधिएकै प्रश्न एड्भान्स एजुकेशनल साइकोलोजी विषयमा पनि दोहोरिएपछि परीक्षा स्थगित गरिएको डिन गौतमले बताए।

‘भुलवश अस्तिकै प्रश्न आज पनि दोहोरिएछ, उनले सेतोपाटीसँग भने, आधा घण्टा परीक्षा सारेर अर्को प्रश्नपत्र पठाएर परीक्षा चलाउन खोजेका थियौं तर विद्यार्थी मानेनन्।’

गौतमका अनुसार कीर्तिपुरस्थित परीक्षा केन्द्रमा मात्रै परीक्षा स्थगित गरिएको छ। यहाँ अंग्रेजीका पाँच सय हाराहारी विद्यार्थी परीक्षामा सहभागी थिए।

‘त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी शुक्रबार ७५ केन्द्रमा परीक्षा चलेकोमा एउटामा मात्रै स्थगित भएको हो, उनले भने, अरू ठाउँमा आधा घन्टापछि सारेर परीक्षा चलाइयो, किर्तिपुरमा स्थगित भयो।

परीक्षा समितिको बैठक बसेपछि स्थगित भएको विषयको परीक्षा हुने मिति तोकिने उनले जानकारी दिए।

परीक्षामा सहभागी एक परीक्षार्थीका अनुसार १० नम्बरको वस्तुगत प्रश्नको विद्यार्थीहरूले हल गरिसकेका थिए। ५० नम्बरको विषयगत प्रश्नपत्र बाँड्ने बेला शिक्षकहरूले बुधबार परीक्षा भएकै विषयको प्रश्नपत्र परेछ भनेपछि हल्लाखल्ला सुरू भयो।

‘यो त्रिविको लापरबाही हो, ती परीक्षार्थीले भने, अस्ती परीक्षा दिएकै विषयका प्रश्नपत्र आज पनि सोधेका रहेछन्।’

Advertisement

Advertisement

Advertisement