चिकित्सक भन्छन्– डेंगुको त्रासबाट नआत्तिउँ, लाम्खुट्टेबाट बचौं

Advertisement

काठमाडौं । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबमा शुक्रबार बोल्दै उनीहरुले रोग नियन्त्रणका लागि घरदेखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म दुई हजार ५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथ्यांक प्रस्तुत गरे ।

यो रोगबाट कास्की, मकवानपुर, सुनसरी, चितवनमा बढी संक्रमण देखिएको बताउँदै उनले डेंगुबाट चार जनाको मृत्यु भइसकेको बताए । लालले भने– उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्छ ।’ उनले अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए ।

लालले रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैरसरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए ।

लाले भने– देशभरका स्थानीय तहमा न्यूनतम् ८७ लाख र अधिकतम् ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको छ ।’ विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रबटाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि मृत्यू हुने गरेको उनले बताए ।

लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने जानकारी गराए । बढी संक्रमण भएकाहरुमा रक्तस्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए ।

उनले भने– डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ । तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको जानकारी दिए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने बताए । पाण्डेले आफू कार्यरत रहेको अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको जानकारी समेत गराए ।

विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने पाण्डेको भनाई रहेको छ । उनले भने– डेंगु संक्रमण क्लासिकल लाम्खुट्टे र सेविसियल लाम्खुट्टेको टोकाइबाट मात्र डेंगु संक्रमणहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वप्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने बताए । यसका लागि संगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लाम्खुट्टेको अध्ययन गर्दा यो २० वर्ष भन्दा पहिले भित्रिएको मरासिनीले बताए ।

उनले डेंगुबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लाम्खुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लाम्खुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । मरासिनीले भने– सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ ।

डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सके रोगवाट बच्न सकिने उनले जानकारी दिए । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्नेमा मरासिनीले जोड दिए ।

Advertisement

Advertisement

Advertisement