पूर्वएमाले नेता भन्छन्– प्रचण्डलाई एक्लै पार्टी चलाउन दिनुपर्छ, राम्रोसँग चल्छ

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले प्रधानमन्त्री केपी ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने बताए ।

ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भइसकेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टी अहिले सत्तामा छ । वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।’

ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए । तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाई छ । ज्ञवालीले भने, ‘सरकार जनतामा आधारित छ । पार्टी पनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टीभित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकल जस्तो लाग्न सक्छ । तर, अब यसलाई लागु गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।’

अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे । उनले भने, ‘अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटिको अध्यक्षको रुपमा कार्यरत छन् । अब त्यहाँ के होला ? त्यहाँको कामको मुल्याङ्कन कसले गर्ने ? त्यसैले यस्तो अवस्थामा राम्रो परिणाम आउँदैन् ।’

ज्ञवालीले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे । उनले भने, ‘हामी चीन र रुसले जस्तो चलाउन सक्दैनौं । सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ । त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ । उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ ।’

पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाई छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागु गर्नुपर्छ’– ज्ञवालीले भने । उनले अब आउने स्थायी समिति र केन्द्रिय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए । उनले थपे,‘यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली संसदबाट निर्वाचित प्रधानमन्त्री भएकोले र उनले दुई वटा बजेट ल्याएकोले बजेट कार्यान्वयनलगायतका काम गर्न पनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गरे । ओलीले भने, ‘सरकारको नेतृत्व ओलीजीले गर्ने हो र प्रचण्डजीलाई पार्टी चलाउन एकल अधिकार दिनुपर्छ । प्रधानमन्त्रीमा ओलीजीलाई पार्टीभित्रबाट भरपुर सहयोग गर्नुपर्छ ।’

नेता ज्ञवालीले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिईए राम्रोसँग सञ्चालन हुने र यसले राम्रो नतिजा दिने पनि विश्वास दिलाए । त्यस्तै, ज्ञवालीले वर्तमान सरकारले राम्रै काम गरिरहेको पनि सुनाए । उनले भने, ‘सरकार चलेकै छैन भन्ने होईन् । चलेकै छ । तर, अझै धेरै गर्नुपर्छ । अहिलेपनि सरकारले धेरै राम्रा राम्रा निर्णयहरु गरेको छ ।

Advertisement

Advertisement

Advertisement