महत भन्छन्– अहिलेको सरकारले राम्रो काम गरेर आर्थिक वृद्धिदरमा सुधार आएको होइन्

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकता के हो ? भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिले पनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने, ‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ महतले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।

महतले भने, ‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।’

अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । महतले भने, ‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकता छ ।’

महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो पोखे । उनले भने, ‘अहिले देशभरि ७६१ सरकार छन् । तर, उनीहरुको बीचमा अधिकार र साधन स्रोतको बाँडफाँडको कारणले राम्रो सम्बन्ध छैन् । तीनै तहबीच अहिले प्रशस्त विवाद छन् । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ । उनीहरुबीच अधिकार र शक्ति विभाजनको नाममा अहिलेपनि विवाद रहेको प्रष्ट छ ।’ संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझै पनि संसदबाट पारित नभएको महतको अर्को गुनासो छ ।

त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ । उनले भने, ‘अझै पनि तीन तहका सरकारका क्षमता अभिवृद्धि भएको छैन् । तीन तहका सरकारको क्षमता अभिवृद्धिमा ध्यान पुगेको छैन् । विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् ।’

विगतका सरकारले अघि बढाएका (कतिपय त रातो किताब)मा समेत परेका योजनाहरु रोकिएको उनले सुनाए । महतले भने, ‘सडक, सिँचाई, खानेपानी लगायतका पाँच–सात हजार योजनाहरु अहिले रोकिएका छन् । निर्माण कार्य सुरु भएका योजनाहरु यसरी रोकिँदा विकास कसरी हुन्छ ? कतिपय महत्वपूर्ण योजनाहरु लठाबज्र भएका छन् ।’

उनले सांसदहरुलाइ रकम दिने र जथाभावी नयाँ योजना सुरु गरिएकोप्रति पनि आक्रोश पोखे । पछिल्लो समय विलासीमा बढि खर्च भैरहेको पनि उनले टिप्पणी गरे । महतले भने, ‘अहिले उपयोगी वस्तु, तलब, भत्तामा बढि खर्च भैरहेको छ । पुँजीगत खर्च कम छ । राजश्वले प्रशासनिक खर्च धान्दैन् ।’ करदाताहरुको रकम व्यापक दुरुपयोग भएको उनको टिप्पणी छ ।

महतले पछिल्लो समय चुहावट बढिरहेको पनि सुनाए । उनले भने,‘कतिपय ठूला आयोजनामा लागतहरु डबल भएका छन् । मेलम्चीको लागत पनि डबल भएको छ ।’ उनले काम नगर्ने र गलत गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरे ।

सरकारले खर्च बढाएकोमा पनि महतले असन्तुष्टि पोखे । उनले भने, ‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाहृयतर्फ ३ सय अर्ब छ ।’

उनले पञ्चायतपछि अर्थात २०४१ सालपछि आफूहरु सरकारमा आएपछि कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत ऋणलाई घटाएको पनि दाबी गरे । महतले भने, ‘चार वर्ष पहिले पनि हामी नै सरकारमा हुँदा जि.डि.पी.को २५ प्रतिशतमात्रै ऋण थियो, अहिले त्यो बढेर ३० प्रतिशत पुगेको छ ।’

महतले वर्तमान सरकारले काम गर्ने र उत्पादकत्व बढाउने कल्चरको विकास गर्नुपर्नेतर्फ पनि सुझाव दिए । तर, सरकारले त पार्टीकरणमा बढि ध्यान दिएको उनको आरोप छ । उनले भने, ‘नेपालमा भएको जनशक्तिको पनि सही सदुपयोग भएको छैन् । दक्ष र क्षमता भएका मान्छेले पनि पार्टीको मान्छे नभएको कारण मौका पाएका छैनन् । प्रशासनमा पनि अहिले राजनीतिकरण भएको छ ।’

महतले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे । उनले भने, ‘सालाखाल ६ प्रतिशत वृद्धि भएको छ । ६ प्रतिशत वृद्धि हुनु पनि राम्रै कुरा हो, तर कसरी ७ प्रतिशत वृद्धिद्धर हाँसिल भयो भन्ने कुरा मैले बुझेको छैन् ।’

उनकाअनुसार वर्तमान सरकारले अहिले पनि तल्लो तहसम्मै तथ्यांक बढाईचढाई गर्न दबाब दिएको आशंका छ । आर्थिक वृद्धिदर राम्रो हुनुमा उनले भूकम्पपछिको पुनर्निर्माण रकमको व्यवस्था र विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्नुलाई मुख्य आधार मानेका छन् । तर, सरकारले राम्रो र नयाँ काम गरेको कारण आर्थिक वृद्धिद्धरमा सुधार नभएको उनको जिकिर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै २४ अर्वको योजना परेको भन्दै नेता महतले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे । सरकारले शक्तिको ज्यादै दुरुपयोग गरिरहे कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्ने पनि उनले चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement