कमजोर निर्माणका कारण मुलपानीस्थित ग्रिनसिटी हाउजिङका घर भत्कन सुरु

Advertisement

काठमाडौं । हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्।

‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो’– स्थानीय विष्णु गुरागाईंले गुनासो पोखे ।

‘स्थलगत अध्ययन गर्दा घरका लागि बनेको सपोर्टिङ वाल ढलेपछि घर पल्टिएको देखिन्छ। भवन बनाउनुपूर्व ढुङ्गाको मजबुत पर्खाल लगाइएको भए पुरिएको माटैसहित घर बग्ने थिएन’– गुरागाईंले भने ।

जसरीतसरी निर्माण गर्ने अनि सोझासाझाको आँखामा छारो हाल्ने नियतका कारण भवन भत्किएको भन्दै अर्का स्थानीय स्थानीय लक्ष्मीप्रसाद कँडेलको टिप्पणी थियो– ‘पहिरोनजिकका स्थानीयका नौवटा भवन अहिले पनि जोखिमा छन्, भत्किएको घरसंँगैको कम्पनीको तेस्रो घर पनि ठूलो वर्षा भएमा भत्कने जोखिममा देखिन्छ।’

ग्रिनहिल सिटी आवास निर्माण कम्पनी हो। यसले घर बनाएर सेवाग्राहीलाई हस्तान्तरण गर्छ। तर, बिना कुनै प्राकृतिक प्रकोप निर्माणाधीन भवन भत्किएपछि भवन खरिद गरी बसोबास गरेका दुई सय परिवारको मनमा समेत चिसो पसेको छ।

चार वर्षअघि ग्रिनहिल सिटी हाउजिङ कम्पनीले मूलपानीमा निर्माण गरेको घर खरिद गरेका विष्णुराज पौडेल ‘किरण’ अहिले ग्रिनहिल सिटी उपभोक्ता समाजका अध्यक्ष छन् । समाज हाउजिङ कम्पनीसँग आधारभूत सुरक्षाका लागि संघर्ष गरिरहेको छ । हालसालै भत्किएको भवनको हवाला दिँदै पौडेल भन्छन– ‘अब यो घरको कुरा मात्र रहेन।

सबै घरको माटो परीक्षण गरिनुपर्छ। कति मिटर तलसम्म जानुपर्ने हो, इन्जिनियरले भनेबमोजिम गर्नुपर्छ।’ उनका अनुसार मजबुत पर्खाल निर्माण नगरी घर बनाइएकाले स्थानीयको ९–१० वटा घर अहिले पनि जोखिमा छन्।

उनका अनुसार कतिपय स्थानीयको घर पहिरो गएको स्थानबाट ६–७ फिटको दूरीमा मात्र रहेकाले बढी असुरक्षामा छन्, त्यहाँ केही भए हाउजिङ कम्पनीले जिम्मेवारी लिनुपर्छ।

होमबहादुर राना मगरको घर पहिरो गएको स्थानभन्दा ६–७ फिट मात्र पर रहेको छ। अगाडिको निर्माणाधीन घर पहिरोले लगेपछि आफ्नो घर भत्कने जोखिम बढेको उनी बताउँछन् ।

‘ढुंगाको पर्खाल लगाएको भए त्यो घर भत्कने नै थिएन। मात्र ९ इन्चको ढलानले यतिधेरै माटोको वजन कसरी थाम्न सक्नु ? माटो हाल्ने बेलामै थाम्न नसकेर पर्खाल चर्किएको थियो। मैले भनेको कम्पनीले सुनेन। अहिले देखियो’, रानाले भने– ‘कम्पनीले ढुङ्गाको बलियो पर्खाल जगैबाट लगाइदेओस्, अहिलेलाई हाम्रो माग यत्ति हो।’

भवन किन भत्किएको होला भनेर गरिएको प्रश्नको उत्तरमा माटोको थुप्रोमा पानी मिसिएपछि प्रेसर धान्न नसकी पहिरो गएको ग्रिहहिल सिटी हाउजिङको घर नंं. १ सय २४ का धनी गम्भीर सिंह जिजी बताउँछन् ।

मंगलबार राति २ बजेतिर छरछिमेकीको निद्रा बिगार्दै भत्किएको भवन कामै नलाग्ने गरी ध्वस्त भएको छ। संयोगवश कुनै मानवीय क्षति भने भएको छैन। कार प्रोच, ग्रिन गार्डनिङ, इन्डिभिजुयल वाउन्ड्री, गुड अकोमोडेसनको दाबा गरिएको उक्त भवन साढे दुई तल्ले रहेको थियो।

आठ आना क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनको मूल्य ७० लाख मात्र तय भएको बजार प्रबन्धक सौरभ तिमिल्सिनाले बताए । मूलपानीमा तीन सय ४० रोपनी क्षेत्रफलमा आठ सय घर बनाउने योजना अगाडि सारेकोमा कम्पनीका ६ सय ५० घर बिक्री भइसकेका छन् भने दुई सय ५० घर बन्ने र बिक्री हुने चरणमा छन्। आयोजना लागत पाँच अर्ब तय भएको ग्रिनहिल सिटीले जनाएको छ ।

आवास निर्माणका क्षेत्रमा यो नेपालकै सबैभन्दा ठूलो हाउजिङ भएको कम्पनीको दाबा छ। भवनको खुलापनमा जोडदिने गरेको बताउने हाउजिङहरू चारदेखि १४ आना क्षेत्रफलमा निर्माण गरिएको बजार प्रबन्धक तिमिल्सिना बताउँछन । उनका अनुसार घरको बुकिङ २०६८ देखि खुला गरिएको थियो।

भवन किन भत्कन पुग्यो भन्ने सवालमा बजार प्रबन्धक तिमिल्सिना भन्छन्– ‘हाम्रा कुनै पनि भवन २०७२ वैशाख १२ को भूकम्पमा क्र्याकसमेत भएनन्। यो भवनको निर्माण गर्दा पनि स्ट्रक्चरमा कुनै कमी–कमजोरी भएको छैन। भवनभन्दा माथितर्फको माटोमा वर्षाको पानीको कारण प्रेसर थेग्न नसकी पहिरो गएको मात्र हो।’

तर, भाद्र १७ गते भीषण वर्षा पनि भएको थिएन। त्यो दिनको पानीले अन्यत्र खासै नोक्सानी गरेको पनि पाइएन, तैपनि किन ग्रिनहिल सिटीको भवन भत्कियो भन्ने सवालमा हाउजिङको क्याचमेन्ट एरिया करिब १३ सय मिटर रहेको र त्यसक्षेत्रमा पानीको मूलसमेत रहेकाले भवन भत्कन गएको भन्ने उनको जवाफ थियो। ‘हामीले जगमा हात्तीपाइले मजबुत नै हालेका थियौं। मोटो डन्डी राखेरै ढलान गरेकै हौं।

यसलाई दिनदशाको रूपमा लिनुपर्ला’ उनका अनुसार पहिरो नजाओस भन्ने हिसाबले पानी डाइभर्टसमेत गरिएको छ भने करिब तीन करोड लगानीमा रिटेन्सन वाल लगाएका कारण स्थानीयवासी कम्पनीसँंग खुसी नै छन्।

ग्रिनहिल सिटी प्रालिले उसको वेब साइटमा कम्पनी प्रतिष्ठित हाउजिङ रहेको उल्लेख गरेको छ।

सोही सन्दर्भमा, अब कम्पनीको प्रतिष्ठामा असर पर्यो नि भन्ने सवालमा बजार अधिकृत रञ्जन निरौला भन्छन, ‘यसमा स्ट्रक्चरियल कमजोरी छैन। तर पनि भवन भत्किएको छ। कतिपय पाठ घटनापछि मात्र सिक्न सकिन्छ। यस घटनाले हामीलाई राम्रै पाठ सिकाएको छ। त्यो कुरा ग्राहकलाई हामीले राम्रोसँंग बुझाउँछौं।’

भेषराज लोहनी अध्यक्ष रहेको उक्त कम्पनीको स्थापना २०६२ मा भएको हो। तिमिल्सिनाका अनुसार आयोजना लागत मूलपानीमा ५ अर्ब, बालकोटमा ३ अर्ब, इमाडोलमा २.५ अर्ब, धुम्बाराहीमा ७० करोड गरी कुल ११।२० अर्ब रुपियाँ रहेको छ।

मूलपानीमा ८ सय, बालकोटको १ सय ५० र इमाडोलमा ९५ युनिट, धुम्बाराहीमा १५ युनिट भवन निर्माणको आयोजना अगाडि बढाएको कम्पनीले स्थायी रूपमा ८० र अस्थायी रूपमा ३ सय ५० जनालाई रोजगारी उपलब्ध गराएको हाउजिङ्को दाबी छ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement