गणतान्त्रिक संविधान दिवस मनाउन घरघरमा दीपावली गर्नुपर्ने सरकारी उर्दी

Advertisement

काठमाडौँ । संविधान दिवस (असोज ३))लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोसाकमा झन्डासहित र्‍यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दीपावली गर्न समेत भनेको छ ।

मुलुकमा लोकतन्त्र स्थापनापछि पहिलो पटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’ जारी गरेको हो । दिवसका दिन प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजना हुने समारोहस्थलमा सबै सहभागी हुन सरकारले निर्देश गरेको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयअनुसार सबै मन्त्रालय र केन्द्रीय कार्यालयले मातहतका निकायहरूलाई यससम्बन्धी सर्कुलर जारी गरिसकेका छन् ।

सबै मन्त्रालय र केन्द्रीय निकायले आ–आफूसँग सरोकार राख्नेनिजी क्षेत्रका उद्योग व्यवसाय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी संघसंस्था र तिनका कर्मचारीलाई संविधान दिवसका कार्यक्रममा औपचारिक पोसाक र राष्ट्रिय झन्डासहित सहभागी हुन भनेका छन् । त्यसका लागि गृह मन्त्रालयले राष्ट्रिय झन्डा अंकित टिसर्टका ४ नमुना तयार पारी आफ्नो वेबसाइटमा राखेको छ । जस अनुसार सबै सहभागीले बायाँ छातीमाथि झन्डा पर्ने गरी बनाइएको टिसर्ट लगाउनुपर्नेछ ।

संविधान दिवसका दिन फहराउने झन्डाको साइज पनि तोकिएको छ । सरकारी, निजी तथा सार्वजनिक यातायातका सवारीमा समेत झन्डा फहराउन परिपत्र गरिएको छ । असोज २, ३ र ४ गते साँझ हरेक घरघरमा दीपावली गर्न र झन्डा फहराउन भनिएको छ ।

मठमन्दिर, चर्च, मस्जिद, बौद्ध बिहार, गुरुद्वारामा राष्ट्र, राष्ट्रियता र संविधानका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको आत्मशान्तिका लागि पूजापाठ र प्रार्थना गर्न समितिलेआह्वान गरेको छ । संविधान दिवसका दिनदेखि मुलुकभर सबै सिनेमा हलमा फिल्म सुरु हुनुअगाडि अनिवार्य राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन यसअघि नै निर्देशन दिइसकिएको छ ।

सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गर्नु र घरघरमा झन्डा फहराएर दीपावली गर भन्नु उचित नरहेको एक पूर्वसचिवले बताए । ‘आमजनताले संविधान दिवस कसरी मनाउने भन्ने सरकारले लाद्ने विषयहोइन,’ उनले भने, ‘उर्दी नै जारी गरेर ठूलो भीड देखाउनु लोकतान्त्रिक चरित्र होइन ।’

सरकारले संविधान दिवसका कार्यक्रममा आफ्ना कर्मचारीलाई अनिवार्य उपस्थित होऊ भन्नुलाई अन्यथा भन्न नमिल्ने पूर्वगृहसचिव गोविन्द कुसुमले बताए । तर निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामुदायिक तथा निजी स्कुलका विद्यार्थीलगायतलाई सहभागी हुन उर्दी लगाउनुलाई भने लोकतन्त्रमा उपयुक्त मान्न नसकिने उनको टिप्पणी छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यले भने संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन निजी क्षेत्रसहित सबैलाईआह्वान गरिएको बताए ।

मुलुकभरका स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संघसंस्थाबाट राष्ट्रिय झन्डा अंकित टिसर्ट लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरिएको उनले प्रस्ट्याए । सवारीसाधनमा झन्डा फहराउनसमेत भनिएको उनले बताए । ‘सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ,’ उनले भने, ‘तर अरूलाई यसमा अनिवार्य गरिएको छैन ।’ संविधान दिवसलाई झन्डामय बनाउन सबैलाई झन्डासहित सहभागी हुन आह्वान गरिएको उनले जानकारी दिए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement