काठमाडौंमा सोमबारबाट विद्युतीय बस चल्ने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।

सोमबार दिउँसो एक बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुनेछ ।

सुन्दर यातायात प्रालिले थप ५ वटा बस ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ। विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

बस ४० सिट क्षमताका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ।कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो कार्ड २ सय १५ रुपियाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपियाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने छ।

Advertisement

Advertisement

Advertisement