मन्त्री नै भन्छिन्– बलात्कारी, हत्यारा, एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको कानुन बनाउन सकिन्छ

Advertisement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् ।

यद्यपी उनले अहिले भएका कानूनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लवमा मंगलबार थापामगरले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै भएकै संविधान, कानून र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घट्नामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानून बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’

थापामगरले संविधान, कानून र ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै महिला हिंसाका घट्ना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । अहिले पनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारबाही भइरहेको उनको दावी छ ।

वर्तमान सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको दावी गर्दै थापामगरले भनिन्, ‘हामीले त्यहीअनुसारको महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री कानून तथा ऐनहरु बनाएका छौं ।’

उनले अहिले पनि महिलामाथि हुने हिंसाहरु यथावत रहेको बताइन् । मन्त्री थापामगरले भनिन्, ‘सरकार महिला हिंसाविरुद्धका घट्ना न्यूनीकरण गर्न गम्भीर छ । सरकारबाट इतिहासमै नभएको काम भएको छ । हामीले महिला ंिहसाविरुद्धका अभियान सञ्चालन गरेका छौं । जुन यसअघिका कुनैपनि सरकारले गरेका थिएनन् । अहिले सात वटै प्रदेशमा महिला हिंसाविरुद्धका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’

Advertisement

Advertisement

Advertisement