दुईदिने पूर्वाधार सम्मेलनमा स्वदेशी विदेशी गरी पाँचसय लगानीकर्ता सहभागी

Advertisement

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार उद्घाटन गरे । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको थियो ।

सम्मेलनमा विकास साझेदार संस्थाका प्रमुख एवं उपप्रमुखको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा लगानीको वातावरण बनेको बताए । उनले ठूला पूर्वाधारको विकास जरुरी रहेको भन्दै त्यस्ता परियोजना हेरेर सरकार र निजी क्षेत्र दुवैले लगानी गर्नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । नेपालकै स्रोतले नभ्याउने भएकाले विदेशी लगानीकर्ताको समेत सहयोग लिन वातावरण गरिने उनको भनाई थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै भावना र भावुकतामा कुनै पनि योजना अघि नबढाइएको सुनाए सरकार लगानीकर्ताको साथमै हुने उनको प्रतिबद्धता थियो ।

गणतन्त्र कोरियाका पूर्व प्रधानमन्त्री डा हान सेउङ सूले पूर्वाधार विकासमा विभिन्न देशका अनुभव आदानप्रदान गर्न सम्मेलन सहयोगी सिद्ध हुने बताए । भारतका नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहले मुख्य संरचना निर्माणका लागि पूर्वाधारमै जोड दिनुपर्ने बताए ।

सांसद एवं उद्योगपति विनोद चौधरीले विभिन्न समस्याका बाबजुद नेपालमा ८० प्रतिशत निजी क्षेत्रको लगानी रहेको सुनाए ।

विश्व बैंकका उपाध्यक्ष जिङदोङ हुआले सगरमाथा र बुद्ध जन्मिएको देशमा पूर्वाधार विकास निर्माणको राम्रा सोच आउने बताए । एशियाली विकास बैंकका महासचिव ऊचोङ उम्ले मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण जस्ता पूर्वाधारमा ऋण सहयोग गरेको उल्लेख गर्दै सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्मा र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकास एवं समृद्धिको नारा पूरा गर्ने माध्यम भएकाले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए । कार्यक्रममा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले पनि बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement