देशमा तत्काल राष्ट्रिय संकट घोषणा गर्न काँग्रेसको माग

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको छ । देशभर डेंगुका रोगीको संख्या बढेको भन्दै नियन्त्रण गर्न सरकारले राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको हो।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय संकट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरे । डेंगु फैलने क्रमलाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उनले ६१ जिल्लामा फैलिएको रोग राष्ट्रिय महामारी नै भएको बताए ।

सांसद अधिकारीले भने– ‘स्वास्थ्यको संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? कति मान्छे मरेपछि यसले महामारीको रूप लिन्छ ?’ ‘सरकार कहाँ छ के गर्दै छ ? यसको महामारी रोक्न सरकारले के गर्दै छ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ? उनले सोधे ।

डेंगु रोग परीक्षणको नाममा निजी अस्पतालहरूले चर्को शुल्क असुलिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै परीक्षण शुल्क तोक्न पनि सरकारसँग माग गरे । सत्तारुढ दल नेकपाका सांसद कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेंगु रोगको नियन्त्रणमा तत्परता देखाउन सरकारले विशेष अभियान थाल्नुपर्ने बताए ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement