प्रदेश सरकारबाट संघ मातहत लिइएको धनगढी–खुटिया सडक अलपत्र

Advertisement

धनगढी । कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो ।

धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक केही समय पहिले प्रदेश मातहतमा थियो । प्रदेश सरकारले सो सडक बनाउने पहल नगरेपछि फेरि सङ्घ सरकार अन्तर्गत राखिएको छ । विसं २०६४ मा धनगढी खुटियासम्म १० किलोमिटर सडक कालोपत्र गरिएको थियो । कालोपत्र गरेको वर्ष दिन नपुग्दै भत्केपछि सडक मर्मत हुन नसक्दा अलपत्र अवस्थामा रहेको धनगढी उपमहानगरपालिका– ११ का हेम विष्टले बताए ।

उनका अनुसार १० वर्षदेखि सडकको सामान्य मर्मत पनि हुन सकेको छैन । अहिलेसम्म कुनै पनि निकायले सडक निर्माण कार्यमा चासो नदेखाएको विष्टको भनाइ छ । धुलो धुवाँका कारण स्थानीयवासी समेत हैरान हुँदै आएका छन् । सो सडक निर्माणका लागि दबाब दिन पटक–पटक स्थानीय बासिन्दाले आन्दोलन गर्दै आए पनि सडक मर्मतमा कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

वर्षातमा हिलो तथा हिउँदमा उड्ने धुलो धुवाँका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै आएको छ । १० वर्ष पहिले पिच बनेको सडकमा ठूलाठूला खाल्डाखुल्डी छन् । धनगढी खुटिया सडक निर्माणका लागि वडा कार्यालयबाट पहल भइरहेको धनगढी उपमहानगरपालिका– ११ का वडाध्यक्ष गङ्गाराम रानाले बताएका छन् । सडकमा स्थानीय तह र प्रदेश सरकारको बजेट पनि पर्याप्त नभएको उहाँले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement