बढि शुल्क लिएका कारण चितवन मेडिकल कलेजमा १२ दिनदेखि पढाई ठप्प

Advertisement

काठमाडौं । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख रुपैयाँसम्म बढी रकम असुलेको पाइएको छ ।

ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्तपालका दैनिक सेवा भने सञ्चालनमा छन् ।

शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो । चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो छ । एमबीबीएसमा १२ लाख रुपैयाँसम्म बढी शुल्क असुल्ने गरिएको चौथो वर्षका विद्यार्थी नसिम अख्तरले बताए । ‘विद्यार्थीले ६ लाख तिरिसके, अब थप ६ लाख उठाउन दबाब दिन थालेपछि पढाइ बन्द गरेर आन्दोलन सुरु गरेका हौं,’ उनले भने ।

एमबीबीएससहित कलेजले बीडीएस, नर्सिङलगायत अन्य विषय अध्ययन गर्ने विद्यार्थीसँग तोकेभन्दा बढी शुल्क लिने गरेको हो । ‘सरकारले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शुल्क ४२ लाख ४५ हजार तोकेको छ,’ उनले भने, ‘कलेजले भने ५४ लाख उठाउने गरेको छ ।’ बीडीएस पढ्ने विद्यार्थीसँग २६ लाख रुपैयाँसम्म असुल्ने गरिएको छ । मन्त्रिपरिषद्ले बीडीएसका लागि १९ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement