साउदीका दुई तेल प्लान्टमा ड्रोन आक्रमण सोमबारदेखि तेलको भाउ बढ्न सक्ने

Advertisement

साउदी । साउदी अरबका दुई वटा तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएको छ । १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको छ।

यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको उक्त ड्रोन आक्रमणपछि संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको एक साउदी अरबले आफ्नो उत्पादन आधा घटाएको छ।

साउदीका उर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सलमानले अब दैनिक ५७ लाख ब्यारेलमात्र कच्चा तेल उत्पादन हुने जानकारी दिएका छन्। साउदीले दैनिक झन्डै एक करोड ब्यारेल कच्चा तेल उत्पादन गर्थ्यो। विश्वबजारको झन्डै १० प्रतिशत कच्चा तेल साउदीले उत्पादन गर्छ।

आक्रमणपछि ती दुई प्लान्टमा आगो लागेको छ भने काम रोकिएको छ। अराम्कोका सिइओ अमिन नसिरले कम्पनीले जतिसक्यो चाँडै तेल पुनर्उत्पादन गर्ने बताएका छन्।

साउदीले यसअघिको भन्दा आधामात्र तेल उत्पादन गर्ने भएपछि सोमबारदेखि विश्वबजारमा तेलको मूल्य बढ्ने बेलायती प्रसारण संस्थाको विश्लेषण छ। शनिबारको आक्रमणले तेलको मूल्य मात्र होइन अरब क्षेत्रमा तनाव पनि बढाइदिएको छ। अरब क्षेत्रमा आफ्नो प्रमुख सहयोगी साउदीमाथिको उक्त आक्रमणलाई अमेरिकाले इरानले गराएको आरोप लगाएको छ। यमनमा विद्रोहरत समूह हुथीलाई इरानको समर्थन छ।

उक्त समूहले त्यस्तो आधुनिक प्रविधियुक्त आक्रमण गर्न नसक्ने भन्दै त्यसमा इरानकै हात रहेको अमेरिकाको तर्क छ।

विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमा लेखेका छन् रूहानी (इरानी राष्ट्रपति) र जरिफ (विदेश मन्त्री)ले कूटनीतिक पहल गरेको नाटक गरिरहेका बेला तेहरानले साउदी अरेबियामाथि भएका झन्डै सय वटा ड्रोन आक्रमणमा गराएको छ। तनाव मत्थर पार्न गरिएका सबै आग्रहकाबीच इरानले वर्ल्ड इनर्जी सप्लाईमा यसअघि कहिल्यै नभएको आक्रमण गरेको छ। यमनबाट यस्तो आक्रमण भएको हो भन्ने कुनै प्रमाण छैन।

उनले इरानको यो आक्रमणको बिनाकुनै हिच्किचाहट विरोध गर्न सबै राष्ट्रलाई आग्रह गरेका छन्। यही विषयमा साउदीका राजकुमार मोहम्मद सलमानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन्। उनले उक्त आक्रमणको जवाफ दिन साउदी सक्षम रहेको बताएका छन्।

गत वर्ष ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे शक्तिराष्ट्रहरू र इरानबीच भएको सम्झौता छोडेपछि अमेरिका(इरान सम्बन्धमा तनाव चुलिएको छ। सम्झौता छोड्दै ट्रम्पले इरान र तेहरानका उच्च सरकारी अधिकारीमाथि थप प्रतिबन्धहरू लगाएका छन्।

केही समयअघि इरानले आफ्नो हवाइ क्षेत्रमा आएको भन्दै अमेरिकी जासुसी ड्रोन खसालिदिएको थियो।

Advertisement

Advertisement

Advertisement