काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरभाडामा लगाउने व्यक्तिहरुले भाडावालसँग नियमभन्दा धेरै विद्युत महशुल असुली गर्ने गरिएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडामा बस्नेसँग धेरै विद्युत महसुल नलिन चेतावनी दिएका हुन्।
घिसिङले घरबेटीहरुले प्राधिकरणले तोकेभन्दा धेरै शुल्क लिएको गुनासो धेरै आएको भन्दै भाडामा बस्नेसँग नियमविपरित शुल्क नलिने चेतावनी दिए । प्राधिकरणलाई घरबेटीले जति तिर्छन्, त्योभन्दा धेरै भाडामा बस्नेसँग लिन पाइँदैन भन्दै उनले घरबेटीले बिजुलीको व्यापार गर्न नपाउने बताए । प्राधिकरणले तोकेभन्दा धेरै शुल्क लिएको भेटिए कारबाही हुने उनले स्पष्ट पारे ।
घिसिङले प्राधिकरणले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गर्ने योजना पनि सुनाए । उनले अब प्राधिकरणले स्मार्ट बिलिङ र मिटरलाई पनि तिव्रताका साथ अघि बढाउने उल्लेख गरे ।