थापा भन्छन्– काम नगर्ने मन्त्रीहरुलाई हटाएर फ्रेश मन्त्री ल्याउछौं

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा उनले अध्यक्षद्धय ओली र प्रचण्डबीच कार्यविभाजन हुने पनि बताए । उनले भने, ‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’

थापाले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए । उनले भने, ‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं । हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि ? भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने, ‘जनताले आफूले भनेजस्तो अनुभूति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

थापाले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए । जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ । त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भइरहेको सुनाए । थापाले भने, ‘अहिले पनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावनाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’

विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने, ‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भइरहेको छ ।’

त्यस्तै, थापाले मुलुकमा भ्रष्टाचार मौलाएको भनेर पनि आवाज सुनिएको सुनाए । उनले भने, ‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ । हाम्रो पार्टी यो विषयमा गम्भीर छ । हामी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर अघि बढिरहेका छौं ।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउने पनि थापाले जनाए ।

उनले भने, ‘जनतासामू सर्भिस डेलिभरी प्रभावकारी रुपमा हुनुपर्छ । त्यसको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर पनि अघि बढ्नुपर्छ । पार्टीभित्र त्यो विषयमा पनि छलफल भैरहेको छ । केही मन्त्रीहरुको विरोध भएको छ । उनीहरुलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र अब प्रमुख टास्कको रुपमा यो विषयमा पनि छलफल हुनेछ ।’ वर्तमान सरकारलाई असफल भन्न नमिल्ने जिकिर गरे । यद्यपी जति काम हुनुपर्ने थियो त्यति चाहीँ नभएको थापाको पनि गुनासो थियो ।

Advertisement

Advertisement

Advertisement