काबेली ‘बी १’ को परीक्षण उत्पादन दशैँअघि नै, २५ मेगावाट केन्द्रीय प्रसारणमा जोडिने

Advertisement

ताप्लेजुङ । काबेली ‘बी १’ जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँ अगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको हो ।

दशैँ अगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिएका छन् । “आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन शुरु गरेका छौँ, दशैँ अगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ”, निर्देशक न्यौपानेले भने ।

ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत् पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेशनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिन अघि मात्रै काबेली करिडोरको सवस्टेशन निर्माणको कार्यसमेत सम्पन्न भएको छ ।

झण्डै रु पाँच अर्बको लगानीमा आयोजना सम्पन्न भएको हो । शुरुमा रु चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर रु पाँच अर्ब पुगेको बताइएको छ । कूल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् ।

तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण शुरु भएको थियो । अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ । ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् ।

Advertisement

Advertisement

Advertisement