तमोर बनाउन एउटा मात्रै कम्पनीको इच्छा

Advertisement

काठमाडौँ । तमोर जलाशययुक्त आयोजना निर्माणका लागि एउटा कम्पनीबाट मात्रै प्रस्ताव परेको छ । लगानी सम्मेलनले दुईवटा संयुक्त उपक्रम ९जेभी० सँग प्रस्ताव माग गरेको भए पनि जलविद्युत् विकास कम्पनी लिमिटेड र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडको जेभीले मात्रै प्रस्ताव पेस गरेका छन् ।

जलविद्युत् विकास कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलले केही दिनअघि लगानी बोर्ड कार्यालयमा प्रस्ताव पेस गरिएको बताउँदै निर्माण मोडालिटीको विषयमा थप बोल्न नमिल्ने टिप्पणी गरे ।

बोर्डको साउन १६ गते बसेको बैठकले जलविद्युत् विकास कम्पनी लिमिटेडसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको हो ।

विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजना दुई आकर्षक प्रस्ताव पेस गर्ने कम्पनीलाई निर्माणका लागि दिने भन्दै बोर्ड कार्यालयले प्रस्ताव माग गरेको थियो । काठमाडौंमा चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा ७५६ मेगावाटको यो आयोजना सोकेस गरिएको थियो ।

सम्मेलनको क्रममा आयोजना निर्माणका लागि पाँच कम्पनीले इच्छा देखाएका भए पनि दुईवटा जेभीसँग मात्रै प्रस्ताव पेस गरिएको थियो । बोर्ड कार्यालयले २१ दिने म्याद दिएर प्रस्ताव माग गर्न पत्र पठाउने निर्णय गरेको थियो । प्रस्ताव पेस गर्न आइतबार अन्तिम म्याद थियो । बोर्ड बैठकले दुई प्रस्ताव मूल्यांकनका लागि मूल्यांकन समिति पनि गठन गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले प्राप्त प्रस्तावको मूल्यांकन गर्नेछ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आइतबारसम्म म्याद भएकामा एउटा कम्पनीको मात्र प्रस्ताव परेको जानकारी दिए । ‘त्यो प्रस्तावलाई मूल्यांकन समितिले मूल्यांकन गरेपछि बोर्डमा पेस हुन्छ । बोर्डको आगामी बैठकबाट नभए अर्कोबाट निर्णय गर्छौं,’ उनले भने ।

विद्युत् विकास विभागले तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि २०७० साउन १६ गते विद्युत् प्राधिकरणलाई अनुमतिपत्र दिएको थियो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement