नागरिक लगानी कोषले ल्यायो आकर्षक नयाँ योजना, पेन्सनसहितका सामाजिक सुरक्षा सुविधा

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले ‘नागरिक बचत वृद्धि कार्यक्रम’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कोषका कार्यक्रमहरु कर्मचारी केन्द्रीत रहेको वर्तमान अवस्थामा यसको दायरा फराकिलो एवं सहभागितामूलक बनाउन यो कार्यक्रम घोषणा गरिएको हो । पेन्सन योजनामा रुपान्तरण गर्ने योजनासहितको यो योजनाबाट कोषको विद्यमान योजनाहरुले नसमेटिएका क्षेत्र तथा समुदायहरुलाई समेट्न सहयोग पुग्ने विश्वास कोषको छ ।

कोषलाई बढि सहभागितामूलक बनाउन आयआर्जन गर्ने समूहको पहिचान जरुरी रहेको भन्दै कोषका कार्यकारी निर्देशक रमन नेपालले लामो समयदेखि आफूहरुले कुनै नयाँ योजनासमेत नल्याएको अवस्थामा आएको नयाँ योजनाले लाखौं श्रमिकहरुलाई समेट्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार करिब ७१ लाख श्रमशक्ति आयमुलक रोजगारीमा संलग्न छन् । रोजगारमा रहेका र तलव तथा ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी १७ हजार ८०९ रुपियाँ रहेको छ । कुल रोजगारीमा रहेकामध्ये करिव १५ लाख रोजगारहरु कुनै न कुनै समाजिक सुरक्षासहितको बचत कार्यक्रममा संलग्न रहेका छन् भने बाँकी रोजगार श्रमशक्ति उक्त बचत कार्यक्रमको दायराभन्दा बाहिर रहेका छन् ।

नागरिक लगानी कोषले त्यो वर्गलाई समेट्ने गरी निश्चित अवधिपछि पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरिएको हो । यसमा सर्वसाधरणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । यस कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने नागरिकलाई समेटने छ ।

गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, प्रचलित कानुनबमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि यस कार्यक्रमले समेटने जनाउँदै कोषले यसमा न्यूनतम मासिक पाँचसयदेखि क्षमता अनुसार अधिकतम् रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ ।

कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने छन् । योजनामा सहभागी भई दुई वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशतसम्म सहभागी सापटी उपलब्ध गराइने छ भने दुई वर्षसम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने छ ।

यसका अतिरिक्त सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने छ । यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरिने जनाइएको छ ।

यस योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने रमन नेपालले बताए । निजी अस्पतालहरुसँग समझदारी गरेर यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधिउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने उनले बताए ।

Advertisement

Advertisement

Advertisement