दमौलीमा छ हजार घर पुनःनिर्माण

Advertisement

दमौली । जिल्लाका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् ।

आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । बाह्र हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए । यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताए ।

बन्दीपुर गाउँपालिकाका ४८१ आँबुखैरेनी गाउँपालिकाका ४३९ शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२ ऋषिङ गाउँपालिकाका २२४ म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ ।

एक करोड ५९ लाख ४० हजार लागतमा घरेलु तथा साना उद्योग विकास समिति,  दुई करोड ६५ लाख चार हजार लागतमा डिभिजन वन कार्यालय र  दुई करोड १४ लाख ९० हजारको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो । सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास सरकारी कार्यालय भवन एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा दश स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । नौ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्र्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement