भारतीय सेयर बजारमा उछाल आउँदा नेपालमा ओरालो किन ?

काठमाडौं । कर्पाेरेट कर घटाउने निर्णयसँगै भारतीय सेयर बजारमा निरन्तर सुधार देखिन थालेको छ । तर नेपालको सेयर बजार भने ओरालो लागिरहेकै छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले स्वदेशी उद्योगहरुका लागि कर्पाेरेट करमा ८ प्रतिशतले घटाउने घोषण गरेकी छिन् । यस अघि ३० प्रतिशत असुलिँदै आएको कर्पाेरेट कर अब २२ प्रतिशत मात्रै कायम भएको छ । स्वदेशी उद्योगीहरुले पाएको यस्तो सुविधाले भारतीय सेयर बजार शुक्रबार ४.५ प्रतिशतले बढेको थियो ।

तर नेपालको सेयर बजार ओरालो लाग्ने क्रम भने आइतबार पनि रोकिएन् । आइतबार नेप्से परिसूचक १६.०५ अंकले घटेको छ । जुन बिहिबार १८.१२ अंकले ओरालो लागेको थियो । दुई दिनमै मंगलबार र बुधबार ५० अंकले बढेको नेप्से बिहिबार र आइतबार भने ३४ अंकले ओरालो लागिसकेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएकाले लगानी गर्न आव्हान गरेका थिए । उनले देश विकासका लागि आवश्यक पुँजी जुटाउने उपयुक्त माध्यम नै सेयर बजार भएकाले उपयुक्त समयमा लगानी गर्न सबैलाई आग्रह समेत गरेका थिए ।अर्थमन्त्रीले नै लगानीका लागि उपयुक्त समय भएको विचार व्यक्त गरेपछि दुई दिनसम्म लगातार बजार उकालो लागेको थियो ।

मन्त्री खतिवडाले सेयर बजारसँग सम्बन्धीत सबै अन्यौलता आफुले हटाईसकेको पनि बताउँदै आएका छन् । पुँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको, भ्याट नलाग्ने सूनिश्चितता गरेको, पुँजीगत लाभकरण गणना विधिको अन्यौलता हटाउन निर्देशन दिईसकेको बताउँदै आएका छन् । तर पनि लगानीकर्ताको मनोबल भने अझै उठ्न सकिरहेको छैन् ।