जाइकाको निम्तो मान्न बर्षमान पुन र कुलमान घिसिङ आज जापान जाँदै

Advertisement

काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निम्तोमा उर्जामन्त्री बर्षमान पुन जापान जाने भएका छन् । उनी आजै सोमबार साँझ जापान जान लागेका हुन् ।

जापान भ्रमणअघि पुनले जापानी राजदूत मासामिची साइगोसँग भेटे । उर्जा मन्त्रालयमा भएको भेटमा जलाशययुक्त नलसिंगाढ जलविद्युत आयोजना बनाउने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषि तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहमतिका पदाधिकारीसँग भेट गर्ने जनाइएको छ ।

मन्त्री पुनले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रमाको सम्भावना र लगानीबारे समेत जापानी लगानीकर्तासँग अन्तरक्रिया गर्ने जनाइएको छ । उक्त अन्तरक्रियामा फुजी र कान्साईलगायतका जापानका प्रख्यात कम्पनीको समेत सहभागिता रहने छ ।

साथै पुनले जापानमा बसिरहेका नेपालीसँग समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिकाबारे छलफल गर्ने उनको सचिवालयले जनाएको छ । मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्ने भन्दै सचिवालयले यो परियोजना पीपीपी मोडेलमा जाइकाले अध्ययन गरिरहेको र यस परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापान भ्रमणमा जान लागेको जनाएको छ । राजदूत साइगोसँगको भेटमा पनि मन्त्री पुनले यस आयोजना बनाउनेबारे छलफल गरेको थिए ।

Advertisement

Advertisement

Advertisement