गाडि वा सिट नपाएर दशैंमा केही घर जान नपाउने अवस्था आउँदैनः हमाल

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनै पनि समस्या नपर्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लपमा उनले भने, ‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’ हमालले काठमाडौं बाहिर जाने कोही पनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे ।

उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि हमालले विश्वास दिलाए ।

हमालले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए ।

हिजो मात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको सुनाउँदै सबैले मिलेर व्यवस्थापन गर्ने कुरा भएको पनि उनले जनाए ।

महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०–२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । भाडादरमा द्धिविधा नहोस भनेर आफूहरुले विभागको वेबसाईटमा राखिएको सुनाउँदै यसलाई अझै प्रचार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा राखिने पनि जनाए । तोकिएको भन्दा बढि भाडा लिनेलाई कानुनअनुसार कडा कारबाही हुने पनि उनले चेतावनी दिए ।

हमालले यो वर्षको दशैं दुर्घट्नारहित मनाउने सरकारको तयारी रहेको सुनाए । उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्नेगरि काम गरेको पनि सुनाए । उनले भने,‘हामी समयमै सबै काम पूरा गर्छौं ।’

Advertisement

Advertisement

Advertisement