बजार अनुगमन गर्दा व्यापारीले मलाई थर्काएः गौचन

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’

चाडपर्वको मुखमा कालोबजारी र मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने पनि गौचनले चेतावनी दिए । खाद्यान्नदेखि लत्ताकपडासम्म अनुगमन भइरहेको उनको भनाई छ ।

अनुगमन गर्दा हाम्रो व्यवसाय चौपट बनाउन लागेको भन्दै आफूहरुलाई थर्काउने काम भएको पनि गौचनले गुनासो पोखे । उनले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए ।

तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए । गौचनले भने, ‘हामी डराएका छैनौं । ठूला डिपार्टमेन्टल स्टोरमा पनि पुगेका छौं । बजार व्यवस्थित् छ ।’

महानिर्देशक गौचनले बजार मूल्यवृद्धि हुनु स्वभाविक भएको टिप्पणी गरे । आफूहरुले नेपाली उत्पादनलाई बढि प्राथमिकता दिएको पिन उनले सुनाए । बजारमा अस्वभाविक कालोबजारी, मुल्यवृद्धि भए कडा भन्दा कडा कारबाही गर्ने पनि गौचनको चेतावनी थियो ।

अहिले देशभरि ७३ वटा सुपथ मूल्यका पसलहरु सञ्चालनमा रहेका छन् । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको छ । गौचनले सरकारले आफैं घाटा व्यहोरेर भए पनि नुन, चिनी, डीडीसीको ध्यू, खसी बोका, चामलमा सहुलियत दिएको सुनाए ।

Advertisement

Advertisement

Advertisement