माग पूरा नभए बन्चरेको काम रोक्ने स्थानीयको चेतावनी, काठमाडौंको दशैं दुर्गन्धित हुनसक्ने

Advertisement

काठमाडौं । धादिङ र नुवाकोट सिमानास्थित बन्चरे क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।

सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले यस्तो चेतावनी दिएका हुन्। शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा गर्न नसकेको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्।

स्थानीय श्रीराम ढुंगानाले १३ गाउँको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे बन्चरे ल्यान्डफिल साइटको सबै काम रोक्ने बताए । उनले भने– ‘पटक–पटक वार्ता गयौं, हाम्रो कुराको सुनुवाइ भएन, जबसम्म बन्चरे ल्यान्डफिल साइटका प्रभावित जनताको स्वामित्वमा रहेको जग्गा अधिग्रहण गरिँदैन तबसम्म बन्चरेको काम रोक्छौं, अनि सिसडोलमा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’

सरकारले ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिलका लागि करिब एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। सोहीअनुसार सरकारले बन्चरेडाँडामै फोहोर व्यवस्थापन गर्ने तयारी थालेको छ । सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरे ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ।

‘संरचना निर्माण गर्नसक्ने सरकारले जग्गा अधिग्रहण गर्न नसक्ने कुनै विषय नै हुँदैन’, ढुंगानाले भने– ‘हाम्रो मागको विषयमा सुनुवाइ नगरेको कारण दशैंलगत्तै फोहोर ढुवानी ठप्प पार्ने तयारी गरेका छौं।’

उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिसकिएको छ। सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो। तर ११ वर्ष बितिसक्दा पनि बन्चरेडाँडाको पूर्वाधार बन्न सकेको थिएन।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले मंसिरबाट बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने– ‘स्थानीयको अवरोध भए त्यसको समाधान गर्ने जिम्मा स्थानीय निकाय र सरकारको हो, सोहीअनुसार छलफल गरिरहेका छौं।’

करिब १० वर्षअघि बन्चरेडाँडा ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गरेपछि सो क्षेत्रमा पूर्वाधार निर्माण गर्न करिब एक अर्ब रुपियाँ लगानी गरिसकिएको छ। अधिग्रहण भएका जग्गाको मुआब्जा बाँड्न, हिमपाइप हाल्न, वृक्षरोपण गर्न, पुल बनाउन उक्त रकम खर्च भएको श्रेष्ठले जानकारी दिए ।

विश्व वातावरण दिवसको अवसरमा २०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिखमा काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो। अहिले दैनिक झन्डै एक हजार ५० मेट्रिक टन फोहोर व्यवस्थापन हुने गरेको सिसडोलमा दैनिकजसो समस्या पर्न थालेको छ।

दशैं दुर्गन्धित हुनसक्ने
सवारी साधन बिग्रिएको भन्दै केही दिनदेखि राजधानीका चोक–चोकबाट फोहोर उठाउन छोडिएको छ। स्थानीय नागरिक दशैं दुर्गन्धित हुने त्रासमा छन्। कामपा वातावरण व्यवस्थापन विभागले अधिकांश सवारी साधन बिग्रिएपछि केही दिनदेखि फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको पुष्टि गरेको छ।

काठमाडौं र ललितपुर महानगरपालिकाका नगरक्षेत्र यसबाट प्रभावित भएका छन्। कामपा र ललितपुर महानगरपालिकाका अधिकांश सडक, गल्लीमा फोहोरको डंगुर छ।

कामपा वातावरण व्यवस्थापन प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो– ‘अहिले केही सवारी साधन मर्मत भएका छन् अब केही दिनमा समस्या समाधान होला।’ महानगरको टेकु ट्रान्सफर स्टेसन फोहोरले भरिएपछि टेकुलगायतका क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । ट्रान्सफर स्टेसनमा फोहोर थुप्रिएपछि स्थानीयले मंगलबार निजी र बाहिरबाट फोहोर खसाल्न रोकेका थिए।

स्थानीय ऋषेश्वर युवा क्लबका अध्यक्ष भूषण वज्राचार्यले बुधबारदेखि दैनिक ५० वटा सवारी साधनबाट सिसडोल ल्यान्डफिल साइटमा फोहोर लैजाने सहमति भएपछि ढुवानी शुरू हुने बताएका छन् ।

नेपाल समाचारपत्र दैनिकबाट । (इश्वरराज ढकाल)

Advertisement

Advertisement

Advertisement