दशैंअघि नै व्यवसायीले लिएको ऋणको ब्याजमा अनुदान दिने अर्थमन्त्रीको घोषणा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रतिवद्धताअनुसार नेपाली उद्यमीहरुलाई दशैंअघि नै सरकारले ब्याजमा अनुदान दिने घोषणा गरेका छन् । ललितपुर उद्योग बाणिज्य संघको ४०औं बार्षिक साधाणसभामा उनले यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाले भने, ‘स्वदेशी उद्यमीलाई प्रोत्साहन गर्न उनीहरुले बैंकबाट लिएको ऋणमा निश्चित अवधिसम्म ब्याजमा पाँच प्रतिशत अनुदान दिने तयारी भइरहेको छ । दशैंअघि नै सरकारले तपाईंहरुको ऋणको ब्याजको पाँच प्रतिशत सरकारले व्यहोरिदिने छ ।

सरकारले इमान्दार व्यवसायीलाई प्रोत्साहन र इमान्दार नहुनेहरुलाई निरुत्साहित गर्न खोजेको उदाहरण दिँदै उनले इमान्दार व्यवसायीलाई अघि बढाउन खोजेको बताउँदै सोही क्रममा कम्पनीमा काम गर्नेको अनिवार्य प्यान दर्तादेखि सामान ढुवानीमा भीसीटीएस जस्ता प्रावधान ल्याएको बताए ।

उनले भ्याट फिर्ता पाइने बहानामा कपडा व्यवसायले अनधिकृतरुपमा कपडा भित्राएर नेपाली लेवल लगाई बेच्ने गरेको आरोप लगाए । यस्तो गर्दा इमान्दार व्यवसायी गठिने र सीमितले मात्रै लाभ लिने अवस्था बनेको खतिवडाले बताए ।

उनले स्वदेशी कपडा उद्योगीहरुलाई प्रोत्साहन गर्न विद्युत महशुल र आयकरमा ५० प्रतिशत छुट जस्ता कुराले नपुगेर अवैध कपडाको आयातमा कडाई गर्नुपर्यो भनेपछि सरकारले त्यसमा पनि कडाई गरेको बताउँदै अहिले त्यसरी अवैधरुपमा आउने कपडामा निकै कमी आएको बताए ।

मन्त्री खतिवडाले सबै व्यवसायीलाई भ्याट र प्यानमा दर्ता हुन र कारोबारको यथार्थ विवरण देखाउन पनि सल्लाह दिए । साथै, उनले नेपाली उत्पादनहरु सरकारी कार्यालयहरुमा प्रयोग गर्ने कुरालाई बाध्यतात्मक बनाउन लागेको पनि जानकारी दिए । खतिवडाले यसअघि नियम भए पनि कार्यान्वयन हुन नसकेको कुरालाई बाध्यतात्मक बनाई सरकारी कार्यालयहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न लागेको बताएका हुन् ।

नेपाली उत्पादन खरिद गर्न नमिल्ने भए स्पष्टि कारण देखाएर मात्रै विदेशी खरिद गर्न सकिने व्यवस्था गरिने बताउँदै मन्त्री खतिवडाले कसैलाई मन लाग्दैमा स्वदेशी खरिद गर्ने नलाग्दा नगर्ने स्थिति अब नरहने स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement